असार ७, काठमाडौँ। नेकपा माओवादी केन्द्रले दल बदल गरेका स्थानीय तहका जनप्रतिनिधि र केन्द्रीय सदस्यहरुलाई पार्टीबाट निष्कासन गर्ने औपचारिक निर्णय गरेको छ । सोमबार भर्चुअल विधिबाट बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले उनीहरुलाई पार्टीबाट निस्कासन गर्ने निर्णयलाई औपचारिकता दिएको हो ।
यसअघि बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले दल त्याग गरेकाहरुलाई कारबाही गर्ने निर्णयको अधिकार अध्यक्ष प्रचण्डलाई दिएको थियो । सोही अधिकारअनुसार माओवादी केन्द्रले निर्वाचन आयोगमा कारबाहीबारे जानकारी गराएको थियो ।
माओवादी नेता देव गुरुङले दल बदल गरेकाहरुलाई कारबाही गर्ने यसअघि नै निर्णय गरेकाले फेरि पनि निर्वाचन आयोगलाई ताकेता गर्ने निर्णय भएको बताउनुभयो । पार्टीबाट हटाइएका नेताहरुकोबारेमा दल त्यागको सूचना निर्वाचन आयोगले प्रकाशित नगरेको भन्दै आइतबार माओवादी केन्द्रका नेताहरुले आयोग पदाधिकारीलाई भेटेर ध्यानाकर्षण गराउनुभएको थियो ।