जेठ १७, कैलाली । कैलालीमा जारी स्कुल क्रिकेट च्याम्पियनसिपको तेस्रो दिनका सबै खेल वर्षाका कारण प्रभावित बनेपछि रद्द गरिएको छ। प्रतियोगिताअन्तर्गत निर्धारित पाँचवटै खेल सञ्चालन हुन नसकेपछि सम्बन्धित सबै टोलीलाई १–१ अंक प्रदान गरिएको आयोजकले जनाएको छ।

तेस्रो दिनको पहिलो खेलमा धनगढी प्रज्ञा सदन र वेस्टर्न क्रिस्टल एकेडेमी आमनेसामने भएका थिए। टस जितेर फिल्डिङ रोजेको धनगढी प्रज्ञा सदनविरुद्ध वेस्टर्न क्रिस्टल एकेडेमीले निर्धारित १० ओभरमा ४ विकेट गुमाउँदै १७७ रनको विशाल योगफल तयार गरेको थियो।
वेस्टर्न क्रिस्टलका कप्तान सचिन भट्टले विस्फोटक ब्याटिङ गर्दै ३८ बलमा १५ छक्का र ६ चौकाको मद्दतमा अविजित १२८ रन बनाए। यस्तै, दीपक कुडमाल ले ९ बलमा ४ चौकासहित १९ रन जोडे। धनगढी प्रज्ञा सदनका सन्तोष कुँवर, विलियम पुजारा, आशिक रोकाया र निशान्त महरा ले समान १–१ विकेट लिए।
१७८ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको धनगढी प्रज्ञा सदनले १ ओभरमा बिना विकेट क्षति १० रन बनाएको अवस्थामा भारी वर्षा सुरु भएपछि खेल रोकिएको थियो। लामो समयसम्म मौसममा सुधार नआएपछि खेल रद्द गर्दै दुवै टोलीलाई १–१ अंक प्रदान गरिएको प्राविधिक संयोजक आयुव चन्द ले जानकारी दिए।
यस्तै, सिद्धनाथ मावि–माउन्ट सैपाल, मयुर स्कुल–एक्सिस विद्याश्रम, धनगढी बुद्ध एकेडेमी–गार्डनर स्कुल तथा वेदान्त विद्यापीठ–एरिस्टो उमावि बीचका खेलहरू पनि वर्षाका कारण मैदान खेल्नयोग्य नभएपछि रद्द गरिएका छन्।
खेल रद्द भएसँगै ती सबै टोलीलाई पनि समान रूपमा १–१ अंक प्रदान गरिएको आयोजकले जनाएको छ। वर्षाका कारण तेस्रो दिनको खेल तालिका पूर्ण रूपमा प्रभावित बनेको छ।