जेठ ३१, एजेन्सी । अष्ट्रियाले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । रोमानियाको बुचारिस्टमा आइतबार राति नर्थ म्यासेडोनियालाई ३-१ गोल अन्तरले पराजित गर्दै अष्ट्रियाले विजयी सुरुवात गरेको हो ।

खेलको १८ औं मिनेटमा स्टेफानले गोल गर्दै अष्ट्रियालाई सुरुवाती अग्रता दिलाएका थिए । तर,२८ औं मिनेटमा गोरानले गोल गर्दै म्यासेडोनियालाई १-१ गोलको बराबरीमा फर्काए । खेलको ७८ औं मिनेटमा माइकलले गोल गर्दै अष्ट्रियालाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलको ९० औं मिनेटमा लेइमरको पासमा मार्कोले गोल गर्दै अष्ट्रियालाई ३-१ को जित दिलाए ।
युरोपियन च्याम्पियनसिपमा अष्ट्रियाको यो ऐतिहासिक पहिलो जित हो । यस अघि अष्ट्रियाले जित निकाल्न सकेको थिएन । यस जितसँगै समूह सी को अष्ट्रियाले महत्वपूर्ण ३ अंक जोडेको छ । अष्ट्रिया समूहको शीर्ष स्थानमा रहेको छ ।