• २०८३ मङ्सिर १ गते सोमवार

१०औँ राष्ट्रिय खेलकुदको तयारीबारे छलफल गर्न मधेश प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव गुप्ता सुर्खेतमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ २६, सुर्खेत । मधेश प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव शिवाजी गुप्ता कर्णाली रंगशालाको अवलोकन तथा आगामी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ को तयारीका विषयमा छलफल गर्न सुर्खेत पुग्नुभएको छ। उहाँको सुर्खेत आगमनका क्रममा कर्णाली प्रदेश खेलकुद परिषद्का पदाधिकारी तथा सदस्यहरूले स्वागत गरेका छन्।

कर्णाली प्रदेशमा आगामी मंसिर १६ गतेदेखि २७ गतेसम्म आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै विभिन्न प्रदेशबीच समन्वय, पूर्वाधारको अवस्था, खेलाडीको तयारी तथा प्रतियोगिता सञ्चालनका विषयमा छलफल भइरहेको छ। सोही क्रममा सदस्य–सचिव गुप्ताको सुर्खेत भ्रमणलाई पनि अन्तरप्रदेशीय खेलकुद समन्वय र अनुभव आदानप्रदानका रूपमा हेरिएको छ।

सुर्खेतमा रहँदा सदस्य–सचिव गुप्ताले कर्णाली रंगशालाको स्थलगत अवलोकन गर्नुभएको थियो। अवलोकनका क्रममा रंगशालामा निर्माण तथा व्यवस्थापन भइरहेका खेलकुद पूर्वाधार, प्रतियोगिता सञ्चालनका लागि आवश्यक तयारी, खेलाडी तथा खेल पदाधिकारीका लागि उपलब्ध सुविधा लगायतका विषयमा जानकारी लिनुभएको थियो।

त्यसैगरी उहाँले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाही, अर्थमन्त्री टेकबहादुर पछाई तथा सामाजिक विकासमन्त्री एवं कर्णाली प्रदेश खेलकुद विकास परिषद्का अध्यक्ष जीतबहादुर मल्ल लगायतसँग भेटघाट तथा छलफल गर्नुभएको थियो।

भेटघाटका क्रममा विशेषगरी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समग्र तयारी, खेलकुद पूर्वाधारको अवस्था, प्रतियोगिता सञ्चालनका लागि आवश्यक व्यवस्थापन तथा कर्णाली रंगशालाको तयारी लगायतका विषयमा महत्वपूर्ण छलफल भएको जनाइएको छ।

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिँदै जाँदा कर्णाली प्रदेशले प्रतियोगिताका लागि आवश्यक पूर्वाधार तथा व्यवस्थापनलाई तीव्रता दिइरहेको छ। विभिन्न प्रदेशका खेलकुद पदाधिकारीहरूको भ्रमण तथा छलफलले प्रतियोगितालाई थप व्यवस्थित, प्रभावकारी र सफल बनाउन अन्तरप्रदेशीय सहकार्य र समन्वयमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

मधेश प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव गुप्ताको कर्णाली भ्रमणले दुई प्रदेशबीचको खेलकुद सम्बन्धलाई थप मजबुत बनाउनुका साथै १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा अनुभव, सुझाव र सहकार्य आदानप्रदान गर्ने अवसर समेत प्रदान गरेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस