जेठ २५, कैलाली। नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार विहान बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीको पक्षमा उभिने निर्णय गरेको सामाजिक विकासमन्त्री लालबहादुर खड्काले जानकारी दिनुभयो । बैठकमा केपी शर्मा ओली पक्षका सांसदहरुले भने मत दिन नहुने बताउनुभएको थियो ।
पार्टी केन्द्रको निर्देशनअनुसार विश्वासको मत नदिने बताएको सांसद पठान सिंह बोहोराले जानकारी दिनुभयो । तर बहुमत सांसदहरु मत दिने पक्षमा उभिएपछि उहाँहरुले फरक मत राख्न चाहनुभएको थियो । तर बहुमत पक्षले फरक मत पनि राख्न नदिएको एक सांसदले बताउनुभयो । २४ सदस्यीय संसदीय दलमका ओली पक्षका ७ जनामात्र हुनुहुन्छ ।