जेठ २४, महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–१० विश्वकर्माचोकमा गएराति जङ्गली हात्तीले तीनवटा घरमा तोडफोड गरेर आतङ्क मच्चाएको छ । सागरनाथ वन विकास परियोजनाको वनक्षेत्रबाट हात्ती वस्ती पसेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
घर तोडफोड गरेर नोक्सान गरेको सूचना पाउनासाथ प्रहरीटोली घटनास्थल पुगी स्थानीयवासीको मद्दतले हात्ती वनतिर लखेटिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप वस्यालले जानकारी दिनुभयो । जङ्गली हात्तीको चहलपहल बढेपछि सर्वसाधारण डराएका छन् ।
महोत्तरी, सर्लाही र धनुषाको उत्तरीभेगका चुरे क्षेत्र नजिकका बस्तीमा वर्सेनी जङ्गली हात्तीको आतङ्क हुँदै आएको छ । जङ्गली हात्तीले महोत्तरीका खयरमारा, वरडाँडा, गणन्ता, भव्सी, पर्साहीधाप, रजवास, पाटु, सोनापेटी, चेरु र ढुङ्ग्रेसहितका बर्दिबास नगरपालिका र गौशाला नगरपालिकाका वनप्लट नजिकका बस्तीमा आतङ्क मच्चाउँदै आएको छ ।