जेठ २३, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले निषेधाज्ञा खुलेर यातायात सञ्चालन भएको ६ महीनासम्म बैंक किस्ता तिर्न नसक्ने बताएको छ । शुक्रवार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँगको टेलिफोन संवादमा महासंघका तर्फबाट सचिव सरोज सिटौलाले यातायात सञ्चालन भएको कम्तीमा ६ महीना किस्तामा छूट दिनुपर्ने माग राखे ।

A view of a traffic jam on a road, in Kathmandu, on Monday, November 21, 2016. Photo: THT
आगामी साउनमा सार्वजनिक हुने राष्ट्र बैंकको मौद्रिक नीतिमार्फत यातायात क्षेत्रलाई सहुलियत दिन बैंकहरूलाई निर्देशन दिनुपर्ने उनले बताए । अघिल्लो वर्ष यातायात क्षेत्रलाई शुरूमा अति प्रभावित क्षेत्रमा राखिएकोमा कार्यविधि बन्दा पछाडि धकेलेका कारण आफूहरूले कुनै सुविधा नपाएको उनको भनाइ छ । ‘निषेधाज्ञाले यातायात क्षेत्रको १० खर्ब लगानी जोखिममा परेको छ, जसमध्ये ८ खर्ब बैंक ऋण हो,’ उनले भने, ‘यातायात दिनभरि काम गरेर साँझ ज्याला लिने क्षेत्र हो त्यसैले गाडी खुलेको कम्तीमा ६ महीना अवस्था सामान्य हुन लाग्छ ।’
अघिल्लो वर्ष ४ महीना बन्द भएको यातायात यस वर्ष निषेधाज्ञा भएपछि १ महीनादेखि बन्द छन् । यातायात बन्द भएपछि १० लाख जनाले प्रत्यक्ष रोजगारी गुमाएको महासंघका सचिव सिटौलाको भनाइ छ । उनले बन्दाबन्दीपछि सडकमा, चउँरमा र ग्यारेजमा थन्किएका सवारीसाधनमा खिया लागेको र इन्जिन बिग्रिन थालेको बताए ।
गभर्नर अधिकारीसहित अर्थसचिव शिशिरकुमार ढुंगानासँग यातायात क्षेत्रका समस्याका बारेमा जानकारी गराएको बताउँदै सिटौलाले सरकारबाट सकारात्मक प्रतिक्रिया आएको बताए । राष्ट्र बैंकका गभर्नर अधिकारीले महासंघले आफ्ना समस्याहरूको जानकारी दिएको बताए ।
‘टेलिफोनमार्फत उहाँले महासंघका समस्याबारे जानकारी गराउँदै मौद्रिक नीतिमार्फत राहत दिन अनुरोध गर्नुभएको छ,’ उनले भने, ‘हामी मौद्रिक नीति ल्याउनुअघि सबै क्षेत्रका समस्या सुनेर आवश्यकताअनुसार सम्बोधन गर्छौं ।’ मौद्रिक नीतिका लागि समय रहेकाले यस बीचमा सबै क्षेत्रसँग छलफल गर्ने उनले बताए । यो समाचार आजको आर्थिक अभियान दैनिकमा रहेको छ ।