जेठ १७, पाँचथर । पाँचथरमा गए राति एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । झापाको बिर्तामोडबाट ताप्लेजुङ जाँदै गरेको प्रदेश नं १–०१–००१ च ७७०६ नम्बरको एम्बुलेन्स गए राति २ः४० बजे फिदिम नगरपालिका–३ सुम्निमाचोकमा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकी पाँचथरको याङवरक गाउँपालिका–२ फलैँचाकी ५० वर्षीय ममता राईको मृत्यु भएको छ । उपचारका लागि जिल्ला अस्पताल फिदिम ल्याइएकामा बिहान ३ः४० मा उनलाई चिकित्सकले मृत घोषित गरेका थिए । प्रहरीका अनुसार दुर्घटनामा सोही स्थानका हेमन सुब्बा र ताप्लेजुङको सिदिङवा गाउँपालिका–३ का डोडकुमार राई घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाका अनुसार, उनको टाउको, हात तथा छातीमा चोट लागेको छ ।
दुर्घटनापछि प्रहरीले एम्बुलेन्सका चालक पाँचथर हिलिहाङ गाउँपालिका–२ सिंहपुरका वीरेन्द्र धिताललाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ । एम्बुलेन्समा चालकसहित चार जना सवार थिए । एम्बुलेन्स सडकबाट करिब १५ मिटर तल झरेर दुर्घटना भएको हो ।