जेष्ठ १५, काठमाडौं । सरकारले यस आर्थिक वर्षदेखि सरकारी अस्प्तालमा पत्रकारको निःशुल्क उपचार सेवा शुरु गर्ने बताएको छ । सूचना विभागले दिने प्रेस कार्ड तथा प्रेस काउन्सिल नेपालबाट उपलब्ध गराइने उपचार सुविधा परिचयपत्रका आधारमा पत्रकारको उपचार गरिने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताउनुभयो ।

त्यस्तै, पत्रकारको क्षमता विकासका लागि आगामी वर्ष आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गरिने सरकारले जनाएको छ । सोहीअनुसार नेपाल पत्रकार महासङ्घको कार्यालय परिसर सञ्चारग्राममा प्रेस सङ्ग्रहालय निर्माण गर्ने लक्ष्य सरकारले लिएको छ । सोहीअनुसार सबै स्थानीय तहमा फोर जी सेवा विस्तार गर्ने लक्ष्य सरकारले लिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ७ अर्ब ७४ करोड रुपियाँ विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताउनुभयो ।