• २०८३ असार ६ गते शनिवार

कैलालीको घोडाघोडीमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

हरिश बम पढ्न लाग्ने समय : २ मिनेट

जेठ ९, कैलाली । संसद् विघटनको विरोधमा कैलालीमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका २ साडेपानी बजारको चोकमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरीएको हो ।

Open Photo

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेकपा माओवादी केन्द्र निकट भातृ सङ्गठन योङ कम्युनिस्ट लिग नेपाल (वाई सेल)ले आईतबार विरोध प्रदर्शन गर्दै पुत्ला दहन गरेको हो । राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध चर्का नाराबाजी समेत गरेका थिए । जनताको स्वास्थ्य र संविधान माथिको खेलबाड भारी पर्नेछ,जनतालाई अक्सिजन,औषधी र आई।सि।युको तत्काल व्यवस्था गर, जनताको जीवन अस्त व्यस्त,केपी एण्ड कम्पनी प्रतिगमनमा व्यस्त, जनतालाई चुनाव होइन अक्सिजन औषधी र आई।सि।युको आवश्यकता हो जस्ता चर्को नाराबाजी गरेका थिए ।

Open Photo

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन सदर गरेर निर्वाचन मिति घोषणा गरेपछि उनीहरूले पुत्ला दहन र प्रदर्शन गरेका हुन् । सर्वोच्च अदालतले पुनः स्थापना गरेको संसद्को दोस्रो पटकको विघटन सार्वभौम जनतामाथि गरिएको निरङ्कुश र अधिनायकवादी डकैती रहेको वाई सेल नेपालका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य विनोद अधिकारीले बताए ।

प्रधानमन्त्री ओलीले गैर संवैधानिक ढङ्गले संसद् विघटनको कदम चालेको भन्दै उनको निरकुंश प्रकृतिविरुद्ध सम्पूर्ण लोकतान्त्रिक शक्तिहरू एकजुट भएर प्रतिवाद गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । साथै वाई सेल नेपालले साडेपानी बजारमा विभिन्न ठाउँमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको उल्टो फोटो समेत टाँसेका छन् ।

आईतबार मात्र पाँच विद्यार्थी सङ्गठनहरूले सरकारले जनस्वास्थ्यमाथि गरेको खेलवाड र संसद् विघटनको निर्णयको प्रतिरोध गर्न आह्वान गरेका छन् । नेपाली काँग्रेस, माओवादी केन्द्र, एमाले माधव नेपाल समूह, जसपा र राष्ट्रिय जनमोर्चाका विद्यार्थी नेताहरूले संयुक्त विज्ञप्ति निकालेर सो आह्वान गरेका छन् । उनीहरूले सरकारले जनतामाथि गरेको भन्दै उनीहरूले आ–आफ्नो ठाउँबाट प्रतिरोध गर्न सम्पूर्ण विद्यार्थी तथा आम जनसमुदायमा अनुरोध गरेका छन् । सोही बमोजिम विभिन्न सङ्गठनहरूले आफ्नो ठाउँमा संसद् विघटनको निर्णय विरुद्ध विरोध प्रदर्शन गर्ने तयारी गरीरहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस