• २०८३ जेष्ठ २७ गते बुधवार

जसपा ठाकुर र महतो समूहको बैठक भक्तपुरमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ३०, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भक्तपुरको एक रिसोर्टमा पुग्नुभएको छ । बिहीबार दिउसो आफ्नो पक्षका सांसदलाई लिएर अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतो भक्तपुरको एक रिसोर्टमा बैठक गरीरहेका जसपाका एक नेताले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार ठाकुर–महतो पक्षका सांसदहरुलाई बैठकका लागि भन्दै भक्तपुरको रिसोर्टमा लगिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारी दलहरुलाई बहुमतको सरकार गठनका लागि बिहीबार बेलुका ९ बजेसम्मको समय दिनुभएको थियो । बहुमतको सरकार गठनको लागि दिइएको समय सकिनै लाग्दा दलहरुबीच छलफल तीव्र बनेको छ । बिहीबार बिहान अध्यक्ष ठाकुर र महतोले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नु भएको थियो ।

यसैगरी यता कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पनि भेटवार्ता चलिरहेको छ । देउवा निवास बूढानीलकण्ठमा अहिले देउवा र प्रचण्डबीच वार्ता भइरहेको छ । वार्तामा नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा सकिनै लागेको बेला उहाँहरुबीच भेट भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस