असार १०, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसका प्रभावले देशका अधिकांश भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश २ का बारा, पर्सा, रौतहट र प्रदेश ५ का बाँके, बर्दिया, दाङ्ग मा मौसम सफा छ। सुदुरपश्चिम प्रदेशका पहाडी भूभागमा र प्रदेश १ का तराई भूभागमा बर्षा भईरहेको छ।
महाशाखाका अनुसार बुधबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। यस्तै राती देशको सबै प्रदेशहरुका अधिकांश स्थानहरुमा पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश २, कर्णाली र गण्डकी प्रदेश का थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।
महाशाखाका अनुसार देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेकोले ति क्षेत्रहरुका नदीमा पानीको बहाव बढ्ने, भू(क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल, पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन सबैलाई अनुरोध गरेको छ।