चैत्र २२, काठमाडौं । बालाजुस्थित राजेश हार्डवेयरले बिलमा उल्लेख गरिए भन्दा कम तौलको फलामजन्य सामाग्री बिक्री गरेको पाइएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले बालाजुको हार्डवेयरमा शिलबन्दी गरी बिक्री वितरणमा रोक्का गरेको छ। हार्डवेयरले बिलमा उल्लेख गरिएकोभन्दा कम तौलको सामान बेचेको पाइएको विभागले जनाएको छ।
सागरमल अग्रवालको नाममा रहेको राजेश हार्डवेयरले ठगी गरेको भन्दै व्यवसायीहरू गत शुक्रबार महानगरीय प्रहरी वृत्त, बालाजु पुगेका थिए। त्यसरी ठगी गरेको पाएपछि विभागले बालाजुका शाखा प्रमुख कमल शर्मालाई प्रहरी नियन्त्रणमा लिएको छ। उनी भारतीय नागरिक हुन्।
‘हामीले प्रायजसो सामानहरू त्यँहीबाट उठाउँदैथियौं। पहिले देखिनै सामान बिलमा आएभन्दा कम आउँछ की भन्ने शंका थियो। त्यसपछि हामीले तीन जना व्यवसायीहरू मिलेर क्रसचेक गर्न एकै चोटी अर्डर गर्यौं,’ फलाम व्यवसायी दीलिप लामाले भने, ‘१०० किलोको भ्याट बिल छ भने ९० किलोको सामान पायौं। किनेको प्रत्येक सामानहरुको तौल फरक आयो।’ उस सम्बन्धमा विभागले थप अनुसन्धान गररिरहेको छ।