चैत ९, काठमाडौं । बढ्दो हेलचेक्र्याइँ र बेवास्ताका कारण कोरोना संक्रमणको दोस्रो लहरको जोखिम अत्यधिक बढेको छ । त्यसैले, फेरि एकपटक सबै जना चनाखो हँुदै सावधानी अपनाउनुपर्ने अवस्था आएको छ । मास्क र स्यानिटाइजरको उचित प्रयोग तथा भौतिक दूरीमा विशेष जोड दिएर सावधानी अपनाउन सकिए दोस्रो लहरको कोरोनाबाट बच्न सकिने चिकित्सकले बताएका छन् ।
छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि नेपालमा पनि संक्रमणको थप जोखिम बढेको हो । यसअघि पनि पहिलो चरणमा भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपालमा पनि त्यसको अत्यधिक असर देखिएको थियो ।
यसपटक पनि भारतमा संक्रमितको संख्या अत्यधिक बढ्नु तथा नेपालमा जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने प्रवृत्तिका कारण संक्रमणको दोस्रो लहर आउन सक्ने जनस्वास्थ्य विज्ञले औंल्याएका हुन् ।
केही दिनयता नेपालको छिमेकी देश भारतमा कोरोना संक्रमण दर बढ्दोक्रममा रहेको छ । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार आइतबारसम्मको तथ्याकंमा भारतमा ३ लाख ९ हजार ८७ जना सक्रिय संक्रमित रहेका छन् । भारतमा संक्रमितको संख्या बढ्दै जाँदा नेपाल जोखिममा रहेको जनस्वास्थ्य विज्ञ बताउँछन् ।
जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना नगरे नेपालमा दोस्रो लहर भित्रिने बताए । उनले भने, ‘भारतमा कोरोना महामारीको दोस्रो लहरको संकेत देखिएको छ । जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गरेर दोस्रो लहर रोकथाम गर्नु जरुरी छ । संक्रमण रोग विशेषज्ञ डा. अनुप सुवेदीले भिडभाडमा बस्दा संक्रमण फैलिने भन्दै सचेत रहनुपर्ने बताए । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार केही दिनयता भारतका महाराष्ट्र, मध्य प्रदेश, छत्तीसगढ, उत्तरप्रदेशमा संक्रमण दर बढ्दो छ । यसैबीच, सरकारले भारतबाट आउने १४ नाकामा हेल्थ डेस्क सक्रिय बनाएको जनाएको छ ।
संक्रमण दर घटे पनि जोखिम कायम नै रहेकाले संक्रमणको दोस्रो लहर आउन सक्ने देखिएको छ । संक्रमण दर घटेको देखिएपछि केही दिनयता आम नागरिकले जनस्वास्थ्यका मापदण्ड मिच्दै आएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मास्कको समुचित प्रयोग गर्नुपर्ने, भौतिक दूरी कायम राख्नुपर्ने बताउँदै आए पनि कार्यान्वयनमा आउन सकेको छैन ।
मापदण्डअनुसार सबै किसिमका जमघट तथा भेलामा कम्तीमा दुई मिटरको दूरी अनिवार्य कायम गर्नुपर्ने हुन्छ । यस्तै, घरबाहिर निस्किनेबित्तिकै मास्क अनिवार्य रूपमा लगाउनुपर्ने हुन्छ । कार्यालयमा हात धुने व्यवस्था र स्यानिटाइजर अनिवार्य राख्नैपर्ने हुन्छ । कुनै पनि कार्यालयको भवन प्रवेशअघि अनिवार्य रूपमा साबुनपानीले हात धुनैपर्ने व्यवस्था मापदण्डमा छ । मापदण्डअनुसार आधारभूत रूपमा कुनै पनि वस्तुलाई नछुने, आफ्नो आँखा, कान, नाक र मुखलाई अनावश्यक रूपमा छुन हुँदैन । यस्तै, खोक्दा वा हाच्छिउँ गर्दा रुमाल वा टिस्यु पेपरले नाक छोप्नुपर्ने र हाच्छिउँ गर्दा कुहिनाले नाक छोप्नुपर्ने हुन्छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले मानिस मानिसबीच भौतिक दूरी कायम हुनुपर्ने बताए । उनले भने, ‘संक्रमित संख्या घटे पनि जोखिम कायम छ । त्यसैले, मास्कको उचित प्रयोग र भौतिक दूरी कायमलाई ध्यान दिऔं ।’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले संक्रमण फैलिन नदिन स्वयं व्यक्ति सचेत हुनुपर्ने उनले बताए । यो समाचार आजको राजधानी दैनिकमा रहेको छ ।