चैत ८, काठमाडौँ। कोरोना भाइरसको जोखिम बढेपछि सरकारले भारतसँग सीमा जोडिएका नाकामा निगरानी बढाउँदै नाकामा थप कडाई गरेको छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नाकाहरुमा हेल्थ डेस्कको सङ्ख्या बढाएको र आवश्यक कर्मचारी पनि खटाइसकेको छ ।
मुख्यगरी भारतसँगका १४ वटा नाकामा निगरानी बढाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले जानकारी दिए । गड्डाचौकी, गौरीफन्टा, बेलहिया, कृष्णनगर, जमुना नाकालगायतमा कडा निगरानीसहित एन्टिजेन परीक्षण नै गर्ने तयारी भएको छ । भारतमा कोरोना सङ्क्रमणको दर अस्वाभाविक रुपमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ४३ हजार ८ सय १५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यो सन् २०२१ को अहिलेसम्मकै सबैभन्दा धेरै भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । योसँगै भारतमा जम्मा सङ्क्रमितको संख्या १ करोड १५ लाख ९८ हजारभन्दा धेरै भएको छ ।