फाल्गुन २९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठकले माओवादी केन्द्र तर्फका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले पार्टीका तर्फबाट वर्तमान सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएको हो ।

माओवादी केन्द्रका तर्फबाट रामबहादुर थापा सहित ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, सिंचाई मन्त्री प्रभु साह, खानेपानी मन्त्री मणि थापा, श्रम मन्त्री गौरीशंकर चौधरी र खेलकुद मन्त्री दावा लामा अहिले मन्त्री छन् ।
नेकपा एमालेको कमिटीमा राखिएका गृहमन्त्री रामबहादुर थापासहित संघीय तथा प्रदेश सांसदहरूलाई २४ घण्टाभित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र लेख्ने निर्णय समेत बैठकले गरेको छ । बैठकले २०७७ चैत्र २ गते हुने भनिएको राष्ट्रिय कार्यकर्ता भेला अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ भने चैत्र १ गते हुने केन्द्रीय समितिको बैठक भने यथावत् भनेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को २०७७ फागुन २९ गते बसेकाे स्थायी समिति बैठकले गरेकाे निर्णय :
१. माओवादी केन्द्र तर्फका संघिय मन्त्रीहरूलाई फिर्ता बाेलाउने ।
२. एमालेकाे कमिटीमा राखिएका .संघिय तथा प्रदेश सांसदहरूलाई २४ घण्टा भित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र लेख्ने ।
३. २०७७ चैत्र २ गते हुने भनिएको राष्ट्रिय कार्यकर्ता भेला अर्को सुचना नआएसम्मका लागि स्थगित भएको छ ।
४. २०७७ चैत्र १ गते हुने केन्द्रीय समितिको बैठक भने यथावत रहेको छ ।