फागुन २८, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले नेपालको राजनीतिमा अब पुष्पकलम दाहाल प्रचण्डलाई कसैले पनि नपत्याउने बताउनुभएको छ ।राष्ट्यि युवा संघ नेपाल तेह्रथुमको जिल्ला कमिटी घोषणा तथा सपथ ग्रहण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै नेता बस्नेतले प्रचण्डले राजनीतिमा नैतिक हैसियत गुमाइसकेको बताउनु भएको हो ।

सत्ता समिकरणको लागि प्रचण्ड विभिन्न ठाउँमा दौडिए पनि उहाँलाई कसैले नपत्याएको बस्नेतको भनाइ छ । प्रचण्डले आफ्नै कारणले विश्वास गुमाउँदै गएको उहाँले बताउनुभयो । अहिलेको संसदले काम गर्न सक्दैन भन्ने कुरा प्रमाणित भइरहेको पनि उहाँले बताउनुभयो । ‘जसले संसद् पुर्नस्थापनको लागि आन्दोलन गरे तिनीहरुले नै संसद्को पहिलो बैठक वहिष्कार गरेर हिँडे’, उहाँले भन्नुभयो ।
सदन नियमित कार्यसूचिमा जान नसकेको बताउँदै बस्नेतले यसले केपी ओलीले नयाँ जनादेशमा जानकोलागि प्रतिनिधि सभा विघटन गरेको कुरालाई पुष्टि गरेको बताउनुभयो । नेकपा एमालेले अहिले माओवादीको भूमिकालाई हेरिरहेको बस्नेतको भनाइ छ । माओवादीले अविश्वासको प्रस्ताव ल्याउला भनेको ल्याउन सकेन’, उहाँले भन्नुभयो ।
केन्द्र सरकार विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने वा सरकारलाई दिएको विश्वासको मत माओवादीले फिर्ता लिए प्रदेशमा उसका दुई जना मुख्यमन्त्री ढल्ने बस्नेतले चेतावनी दिनुभयो । ‘त्यसैले माओवादीले आँट गर्न सक्दैन, प्रचण्डको अगाडि भिर छ, पछाडि पहिरो छ’, उहाँले भन्नुभयो । बस्नेतले आगामी निर्वाचनमा नेकपा एमाले दुईतिहाई बहुमत ल्याएर सरकार बनाउने उहाँले दबी गर्नुभयो । ‘ढिलो चाँडो निर्वाचन होला, त्यतिखेर हामी देखाउँछौँ’, उहाँले भन्नुभयो । लोकतन्त्रमा जनता नै देवता हुने बस्नेतको भनाइ छ । जनताको मतबाट जाँचिएर आऊँ भन्दा जनताको बीचमा जाने हिम्मत नभएकाले आन्दोलन गरेको उहाँले बताउनुभयो ।
केपी ओली लोकतन्त्र र विकासको पर्याय भएको बस्नेतको भनाइ छ । केपी ओलीलाई प्रतिगामी भन्नेहरु आफैँ प्रतिगामी भएको उहाँले बताउनुभयो । ‘केपी ओली प्रतिगामी होइन, अग्रगामी नेता हुन्’, उहाँले भन्नुभयो । उहाँले प्रचण्ड समूहबाट फर्किएका एमाले नेताहरुलाई विगतका कमजोरी स्वीकार्न पनि आग्रह गर्नुभयो । मैले गल्ती गरेँ, कम्युनिष्ट आन्दोलनमा ठूलो कमजोरी गरेँ भनेर स्वीकार्नुस्’, उहाँले भन्नुभयो ।