फागुन २४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाहरूलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी महिलाविरूद्ध हुने हिंसा अन्त्य गर्न सशक्तिकरण गर्ने सरकारको अभियानमा सबै एक भएर लाग्न आग्रह गर्नु भएको हो । एक सय ११ औं अन्तर्राष्ट्रिय महिला दिवसमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले महिला दिदीबहिनीहरुलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी महिलाविरुद्ध हुने हिंसा अन्त्य गर्न तथा महिला सशक्तीकरण गर्ने सरकारको अभियानमा सबै एक भएर लाग्न सम्पूर्ण देशबासी दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक आह्वान गर्न भएको हो ।

प्रधानमन्त्री ओलीले नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणमा महिलाहरुको सहभागिता र नेतृत्व विश्वकै लागि अनुकरणीय रहँदै आएको पनि बताउनु भएको छ । ‘ऐतिहासिक जनआन्दोलन लगायतका परिवर्तनका सबै आन्दोलनहरुमा नेपाली महिलाहरुले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्णाक्षरले लेखिएको छ। देशको विकासका लागि जनसंख्याको आधाभन्दा बढी भाग ओगट्ने महिला दिदीबहिनीहरुको समान सहभागिता अत्यन्त जरुरी छ,’ उहाँले बताउनु भएको छ ।
जागरुकताको अभावका कारण महिला र पुरुष बराबरी भनिए पनि समाजमा भेदभाव र असमानताहरु कायमै रहेको र ‘अज्ञानता र कुरीतिको आड लिएर भएका खराव अभ्यासका कारण वोक्सी, छाउपडी, दाइजो, बालबिवाह र जातीय विभेदजस्ता उत्पीडनकारी अवशेष कायमै रहेको बताउनु भएको छ । उहाँले यसखाले अपराधलाई निरुत्साह गर्न समाजका सबै पक्षले सहकार्य गरी रचनात्मक रुपमा जनचेतना जगाउनु आवश्यक रहेको बताउनु भएको छ ।
प्रधानमन्त्री ओलीले विभिन्न प्रकार र स्वरुपका लैङ्गिक विभेद, हिंसाका घटनालाई जरैदेखि निर्मूल गर्न सरकारले शून्य सहनशीलताको नीति लिई अपराधिलाई कडा कारवाही र पीडितलाई उचित क्षतिपूर्ति समेतको कानूनी व्यवस्था गर्दै नैतिक शिक्षा र सचेतनाका कार्यक्रमहरु निरन्तर गरिरहेको बताउनु भएको छ ।