फाल्गुन १५, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले वर्तमान सरकार सुखी नेपाली समृद्ध नेपालको नारा कार्यान्वयन गर्न लागिपरेको जानकारी दिँदै केपी ओली नेतृत्वको सरकारले नै मुलुकको समृद्धिको नेतृत्व गर्ने बताएका छन । ग्यास बिक्रेता महासङ्घ नेपालको सातौँ वार्षिक साधारणसभा तथा चौथो राष्ट्रिय महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उनले सरकार परिवर्तन भएर निजी क्षेत्रको समस्या समाधान हुँदैन कि भनेर आशङ्का नगर्नुस्, यही सरकारले व्यवसायीका समस्या समाधान गर्ने बताएका हुन ।
मन्त्री भट्टले पेट्रोलियम पदार्थको आयातको जिम्मा निजी क्षेत्रलाई दिन नसकिने प्रस्ट पारेका छन् । उनले पेट्रोलियम पदार्थ राष्ट्रिय सुरक्षासँग जोडिएकाले आयातको जिम्मेवारी निजी क्षेत्रलाई दिन नसकिने बताएका हुन । पेट्रोलियम पदार्थ आपूर्ति बहुराष्ट्रिय कम्पनीको हातमा हुँदा छिमेकी मुलुक भारतले युद्ध हारेको तथ्य पेश गर्दै उनले नेपाल आयल निगमको विकल्पमा निजी क्षेत्रलाई पेट्रोलियम आयातको जिम्मा लगाउन नसकिने जिकिर गरे । “पेट्रोलियम अत्यन्त संवेदनशील विषय हो, यसको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्छ”, उनले भने ।
कार्यक्रममा नेपाल आयल निगमका नायब कार्यकारी निर्देशन सुशील भट्टराईले ग्यास बिक्रेताले आफूहरुको मुनाफा कमी भइरहेको बताइरहँदा बिक्रीस्थललाई सुरक्षित बनाउनेतर्फ पनि ध्यान दिनुपर्ने बताए । उनले आपसी छलफलका माध्यमबाट व्यवसायीका मुनाफा निर्धारण गर्न सकिने पनि बताए । महासङ्घका अध्यक्ष महेश्वरकुमार श्रेष्ठले बिक्रेताको हकहित र अधिकारका लागि महासङ्घ सदैव लागिपरेको बताए । महाधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।