• २०८३ बैशाख १९ गते शनिवार

श्रीलंका पुर्‍याई मानव बेचविखन गर्ने फरार अभियुक्त पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ४, काठमाडौं । श्रीलंका पुर्‍याई मानव बेचबिखन गर्ने फरार अभियुक्त काठमाडौं महानगरपालिका-३ महाराजगंज बस्ने नुवाकोट तादी गाउँपालिका(१ घर भएकी कमला भेटवाल भन्ने ४६ वर्षीया पाकिजा प्याकुरेललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्याकुरेल समेतका दुबईमा रहेका व्यक्तिको मिलिमतोमा दुबई जानको लागि सेटिङ मिलाउनु पर्छ र त्यसको लागि १ हजार अमेरिकी डलर चाहिने भन्दै २०७६ कार्तिक २७ गते प्याकुरेलले पीडितसँग ५२ हजार रुपैयाँ र १ हजार अमेरिकी डलर बोक्न लगाई काठमाडौं स्वयम्भूबाट भारत दिल्ली पठाएकी थिइन ।

भारतको नयाँ दिल्लीको मन्जुका टिला भन्ने ठाउँमा पुगेपश्चात अन्य व्यक्तिहरुले रिसिभ गरी पीडित महिलासँग नेपाली ४८ हजार रुपैयाँ तथा ८ सय अमेरीकी डलर लिई भारतको मुम्बई हुँदै श्रीलंकामा पुर्‍याएपछि मिनुवाङगोडा भन्ने ठाउँमा बन्धक बनाई राखेको अवस्थामा श्रीलंकाको प्रहरीले फेला पारी ९ महिना बसेपछि नेपालस्थित माईती नेपाल र श्रीलंकास्थित नेपाली दुतावासको सहयोगमा गत माघ ११ गते नेपाल फर्किन सफल भएकी थिइन ।

उक्त घटनामा संलग्न रही फरार अभियुक्त मध्येकी प्याकुरेललाई प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं बुढानिलकण्ठ नगरपालिका(४ पासिकोटमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस