• २०८३ मङ्सिर १३ गते शनिवार

किस्ट शिक्षण अस्पताल र भारतको मेदान्ताबीचको सहकार्य निरन्तर रहने

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

मंसिर १२, काठमाडौं ।  किस्ट शिक्षण अस्पताल र भारतको प्रतिष्ठित स्वास्थ्य संस्था मेदान्ता–गुरुग्रामबीच भएको चिकित्सकीय सहकार्यको एक वर्ष पूरा भएको छ। यस अवसरमा शुक्रबार काठमाडौंको लाजिम्पाटस्थित ¥याडिसन होटलमा विशेष समारोह तथा चिकित्सकीय निरन्तर शिक्षा (सीएमई) कार्यक्रम सम्पन्न भएको छ।

‘क्लिनिको–सर्जिकल एक्सिलेन्स इन कोलाबोरेसन’ नाम दिइएको सहकार्यको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मुटु विज्ञान तथा छाती शल्यचिकित्सासम्बन्धी पछिल्ला उपलब्धि, प्रविधि र उपचार पद्धतिबारे विशेषज्ञ चिकित्सकबीच ज्ञान, सीप तथा अनुभव आदानप्रदान गरिएको थियो।

कार्यक्रममा भारतका प्रख्यात मुटु शल्यचिकित्सक तथा मेदान्ता अस्पताल समूहका अध्यक्ष एवं प्रबन्ध निर्देशक पद्मभूषण डा. नरेश त्रेहान प्रमुख वक्ताका रूपमा सहभागी भएका थिए।

उनले मुटु उपचारमा कृत्रिम बौद्धिकताको प्रयोगसम्बन्धी ‘एआई इन कार्डियाक केयर’ विषयमा प्रस्तुति दिएका थिए।

त्यसैगरी, मेदान्ता इन्स्टिच्युट अफ चेस्ट सर्जरीका अध्यक्ष डा. अरविन्द कुमारले छाती शल्यचिकित्सासम्बन्धी आधुनिक प्रविधि र उपचार पद्धतिबारे प्रस्तुति दिएका थिए।

कार्यक्रममा किस्ट शिक्षण अस्पतालका प्रबन्ध निर्देशक डा. अभिषेक थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने प्रा.डा. रमेश कोइराला र डा. सम्पूर्णमान तुलाधरले कार्यक्रमको अध्यक्षता गरेका थिए।

किस्ट शिक्षण अस्पताल र मेदान्ताबीचको सहकार्यले नेपाली बिरामीलाई अन्तर्राष्ट्रियस्तरको विशेषज्ञ स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको अस्पतालले जनाएको छ।

यस सहकार्यमार्फत नेपाली बिरामीले किस्ट शिक्षण अस्पतालबाटै मेदान्ताका अनुभवी विशेषज्ञ चिकित्सकसँग दोस्रो चिकित्सकीय राय (सेकेन्ड मेडिकल ओपिनियन) तथा दूरचिकित्सा सेवा (टेलिमेडिसिन कन्सल्टेसन) लिन सक्ने सुविधा उपलब्ध छ।

यस सुविधाले जटिल स्वास्थ्य समस्याको उपचारका लागि विशेषज्ञ परामर्श लिन भारत जानुपर्ने बाध्यता, समय र खर्च न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास अस्पतालले लिएको छ।

किस्ट शिक्षण अस्पतालले आधुनिक उपचार पूर्वाधार, विशेषज्ञ चिकित्सकीय सेवा तथा अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थासँगको सहकार्यलाई थप सुदृढ बनाउँदै नेपाली बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस