माघ २३,लहान। आफ्नै आँगनबाट बेपत्ता भएका सिरहाको दुई वर्षीय बालकलाई ७२ घण्टापछि प्रहरीले भारतको मधुवनीबाट उद्धार गरी परिवारको जिम्मा लगाएको छ । आफ्नै घरआँगनमा खेलिरहेका बेला गत मङ्गलबार साँझ सिरहा नगरपालिका–१ डुम्बाखाताका प्रदीप यादवका दुई वर्षीय छोरा प्रियान्सु यादव बेपत्ता भएको थिए ।
बालक घरबाटै बेपत्ता भएको सूचना पाएर खोजतलासमा जुटेको जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले बिहीबार भारतको मधुवनी जिल्ला खाजेडी भन्ने गाउँबाट प्रियान्सुलाई उद्धार गरेको सिरहाका प्रहरी उपरीक्षक सुदीपराज भण्डारीले जानकारी दिनुभयो । बालक प्रियान्सुलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई गए राति नै आमा सङ्गीताकुमारीको जिम्मा लगाएको जनाएको छ ।