माघ ११, एजेन्सी । विश्वकै सबैभन्दा ठूलो लागुऔषध समूहका नाइके भएको आरोप लागेका एक जना पक्राउ परेका छन् । चीनमा जन्मिएका क्यानडेली नागरिक सो चि लप पक्राउ परेका हुन् ।
संसारमा सबैभन्दा धेरै खोजी गरिएका फरार अभियुक्त मध्येका एक मानिने उनलाई एम्स्टार्डममा रहेको स्किपोल विमानस्थलबाट पक्राउ गरिएको बीबीसीले जनाएको छ । नेदरल्यान्डको प्रहरीले अस्ट्रेलियाद्वारा जारी गरेको पक्राउ पुर्जीका आधारमा उनलाई पक्राउ गरिएको खबरमा उल्लेख गरिएको छ । एक दशकभन्दा अघिदेखि प्रहरीको निगरानीमा परेका उनी अस्ति क्यानडातर्फ उड्न लागेका बेलामा पक्राउ परेका हुन् ।
संयुक्त राष्ट्रसङ्घलाई उदृत गर्दै रोएटर्सले सो चि लपको समूहले मेट्याम्फेटमिन बिक्रीबाट मात्रै सन् २०१८ मा १७ अर्ब डलरभन्दा धेरै रकम आम्दानी गरेको अनुमान गरेको थियो । उनी आबद्ध गिरोहले एशियाभरि हुने ७० अर्ब डलर बराबरको गैरकानुनी लागुऔषध कारोबारको ठूलो भाग ओगट्ने पनि बीबीसीले जनाएको छ ।