आज वि.सं. २०८० भाद्र ११ गते सोमवार तदनुसार ई. सं. २०२३ अगस्ट २८ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४५, चन्द्रोदय : दिउँसो ०३:३३ बजे र चन्द्रास्त : भोलि बिहान ०२:५९ बजे, सूर्योदय : बिहान ०५:४० बजे र सूर्यास्त : साँझ ०६:२९ बजे, श्रावण शुक्लपक्ष (गुँलाथ्व) द्वादशी तिथि, दिउँसो ०३:०२ बजेसम्म, त्यसपछि त्रयोदशी तिथि, उत्तराषाढा नक्षत्र, मध्यरात्रीपछि ०१:०६ बजेसम्म, त्यसपछि श्रवण नक्षत्र, चन्द्रमा धनु राशिमा, बिहान ०८:१५ बजेसम्म, त्यसपछि मकर राशिमा

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
दायित्व र जिम्मेबारी थपिने समय हो, कार्यक्षेत्रमा हाकिम वा गुरुवर्ग तथा घरमा अभिभावकको सान्निध्य पाइने तथा विचार र भावना ग्रहण गर्ने दिन हो, सेवाचाकरीमा पनि केही समय दिनुपर्ने हुन्छ । सिनियर स्टाफलाई रिझाउन सकिने छ । व्यक्तित्व विकासको योजना बनाउने र पदोन्नति वा थप अध्ययनका लागि प्रयास गर्ने दिन हो ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
व्यक्तित्व विकास हुने वा सफलता र सम्मान प्राप्त गर्ने समय हो, मान्यजन वा सिनियर्सको सद्भाव लिन सकेमा भविष्य सुन्दर बन्ने सङ्केत छ । धार्मिक÷सामाजिक काममा समय दिनुपर्दा बाहिर अलमलिने दिन हो, तर पनि आफ्नो कामप्रतिको लगनशीलताका कारण कारोबारमा कुनै प्रभाव पर्नेछैन ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
नयाँ र नौलो विषयवस्तुको जानकारी लिन सकिने दिन हो, तर जुनसुकै कुरामा हडबड र शीघ्रता हानिकारक बन्नसक्छ । शरीरमा थकान र उत्साहमा कमी आउने समय छ, तथापि आफूलाई सक्दो प्रसन्न बनाउन प्रयास गर्नुपर्छ, किनभने आज आफ्ना लागिमात्र होइन, आफन्तका निमित्तसमेत तपाईंको दृढता र हौसला आवश्यक देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मन प्रसन्न रहने छ, लवमेटका साथमा घुम्ने, समय यापन गर्ने वा कुनै समारोहमा एकसाथ सरिक हुने अवसर मिल्नेछ । निरङ्कुश बानी र कडापन तपाईंका कमजोरी बन्न सक्छन् । खानपान र आहारविहारको अनुशासन पालना गरेको जाती हुन्छ । भौतिक उपकरण वा सुखसुविधाको वस्तु खरिद गर्ने समय हो।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
घमण्ड र क्रोधमा बृद्धि हुनसक्छ, तर पनि व्यक्तिगत कार्य र पारिवारिक जिम्मेबारीका बीच तालमेल मिलाउन सकेमा विवाद एवं अपजसबाट बच्न सकिन्छ । अतिरिक्त क्रियाकलाप वा प्रतिभा प्रदर्शन गर्न अनुकूल समय छ, तर कलह र विवादको योग बनेको छ, त्यसैले कम बोल्नु ठीक हुन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ता आदिको तैयारीमा हुनुहुन्छ भने अझ कस्सिएर प्रयास गर्नुहोला, मिहिनेत अनुसार राम्रो रिजल्ट निकाल्न सकिने छ । कसैप्रति अलि बढी आकर्षित हुनपुगेको भान हुनेछ, तर यतिवेला आफ्ना विचार र भावनामाथि नियन्त्रण गर्नु समुचित हुनेछ । बुद्धिकौशलको प्रयोग गरी चलाखीपूर्वक काम गर्दा अतिरिक्त पैसा हातलागी हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
अरुको भरमा पर्दा काममा बाधा र धोका हुने समय छ । विगतका कमजोरी सुधार गरी कुनै काम दोहोर्याउने परिस्थितिसमेत बन्नसक्छ । व्यवहारिक कारणले कारोबारमा बाधा हुनसक्छ, तर सागपात, फलफूल, रत्नमाणिक्य, फोटोग्राफी वा भिडियोमिक्सिङ आदिको कारोबारमा मनग्ये लाभ पाउने समय हो ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
दाजुभाइ, दिदीबहिनी वा छरछिमेकीको सहयोग गर्ने हुँदा केही समय बित्नसक्छ । आज व्यक्तिगत पहिचान र प्रतिष्ठा एवं व्यवसायिक स्तरोन्नतिका लागि चालेको हरेक कदमले सफलताको शिखर चुम्नसक्ने दिन हो । कुनै पुरानो समस्या वा कारबाहीमा ध्यान केन्द्रित हुनसक्छ, त्यसैले नबुझेको विषय छ भने सहकर्मीको मद्दत लिएमा समस्या हल गर्न सजिलो हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
अतिरिक्त धन प्राप्त हुनाले सोख पूरा गर्न सकिने छ । नयाँ जिम्मेबारी प्राप्त हुनुका साथै प्रतीक्षित नतिजाले उत्साह बढाउने समय हो । सुख एवं समृद्धिमा बृद्धि हुनेछ, घुमघाममा निस्कने वा मस्ती गर्ने योजना बन्नसक्छ, तर खर्च हुनसक्ने भएकाले गोजी दह्रो बनाउनु ठीक हुनेछ । घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्धलाई सुदृढ बनाउन सम्बन्ध÷सम्पर्क राख्ने दिन हो।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
कार्यस्थल र घरपरिवारमा खुसी र उमङ्गको वातारवरण रहेको छ । आर्थिक मन्दी चल्दैछ भने नयाँ रणनीति कार्यान्वयन गर्नुहोस्, सफलता पाउन सक्नुहुन्छ । जीवनसाथी र परिवारका सदस्यहरूको पूर्ण सहयोग रहने दिन छ । तर तपाईंको हठ र जिद गर्ने बानी छ भने समस्या निम्तिनसक्ने समय हो ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
लगानी गर्दा जोखिम र सङ्कटका बारेमा चिन्तन गर्नुहोला, व्यवसाय तर्फ मार्केटिङ, यातायात व्यवसायी र ढुवानीको क्षेत्रमा लाभ लिन सक्नुहुन्छ । तालमेलमा केही कमी रहने दिन हो । सकेसम्म हरेक व्यवहारमा ठूलाबडाको मर्यादा र सम्मानप्रति सचेतता अपनाउनु आवश्यक देखिन्छ । एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
वरिपरि शत्रुको चंगुल हुनसक्छ, तर मिहिनेत र कर्मको सुनिश्चित सफलता प्राप्तिको समय हो, अरुका कुरामा नभुलिनु होला । मानसिक सन्तुष्टिको समय हो, तथापि आज कुनैकुनै कुरामा भावनामा वहन सक्नुहुन्छ । पार्टनरलाई कुनै उपहार दिएमा सम्बन्धमा अझ प्रगाढता छाउनेछ ।