माघ ६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्रीले गरेका गल्तीका कारण आफू माधवकुमार नेपाल लगायत नेताहरूसँग आइपुगेको बताए । उनले भने “जुन दिन तपाईंले मेरो कुर्सी फेर्नुभयो त्यही दिनदेखि म आठ जनाका माझ पुगें, तपाईंले त्यसो नगरेको भए म त भावुक मान्छे उतिबेलै लुटुपुटु भइहाल्थें। तपाईंको गल्तीको सामेल हुन सक्थें।”
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले लडाइँ हारेको बताएका छन्। मंगलबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा भएको प्रेस संगठनको भेलामा बोल्दै प्रचण्डले अब आफूले ओलीलाई भित्तामा पुर्याइदिने चेतावनी दिए।
उनले अहिलेको प्रतिनिधि सभा विघटन संविधान विघटनको सुरूआत भएको तर्क गरे। उनले प्रतिनिधि सभा विघटनको सिफारिसमा राजा-महाराजा गन्ध आएको बताउदैं प्रधानमन्त्री देशलाई निरंकुशतामा लैजाने प्रक्रिया सुरू गरेकाले आफूले जनआन्दोलन, मधेश आन्दोलन जस्ता कुराको नेतृत्व गर्दै संघीयतासहितका परिवर्तन ल्याएकोले तिनको हत्या हुन खोज्दा आक्रोश उत्पन भएको बताए।
“प्रसव पीडा सहेर जन्मेको बच्चालाई हत्या गर्न लाग्दा एउटा आमालाई जस्तो हुन्छ, अहिले मलाई त्यस्तै भएको छ,” प्रचण्डले भने, “एउटा बघिनीलाई आफ्नो बच्चा अरूले लिएपछि जस्तो हुन्छ त्यस्तै आक्रोश ममा छ। तर मानिसहरूले मेरो भनाइलाई फरक तरिकाले बुझिरहेका छन्।”
भारतसँगको ओलीको सम्बन्धलाई इंगित गर्दै प्रचण्डले उनको राष्ट्रवाद खोक्रो भएको बताए। उनले भने “उहाँ पहिला जसलाई गाली गर्नुहुन्थ्यो। अहिले उनीहरूसँगै लम्पसार परेर बस्नुभएको छ। म कसैको नाम भन्न चाहन्नँ। तपाईंको यो खोक्रो राष्ट्रवाद हो । पार्टीको विवादले गर्दा संसद विघटन भयो भन्नु कुतर्क भएको तर्क गर्दै उनले पार्टीको विवाद पार्टीकै विधानबाट हल गर्ने हो, संसद विघटन गर्ने होइन “