• २०८३ असार ६ गते शनिवार

पुनःस्थापना हुने कुरा कहाँबाट आयो ? : ओली

पत्रपत्रिका पढ्न लाग्ने समय : ३ मिनेट

पुस १९, काठमाडौँ । कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपालले कार्यकर्ता झुक्याउन प्रतिनिधिसभा पुनर्गठनको हल्ला चलाएको बताएका छन् । काठमाडौंमा कार्यकर्ता भेलालाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा कुनै हालतमा पुनःस्थापना नहुने दोहोर्‍याएका हुन् ।

उनले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा रिट दायर भएयताका हरेक सार्वजनिक र आन्तरिक भेलामा प्रतिनिधिसभा पुनःस्थापित नहुने ठोकुवा गर्दै आएका छन् । आन्तरिक भेलारबैठकमा त उनले आफूले अदालत र निर्वाचन आयोगसँग ‘सेटिङ मिलाइसकेकाले’ चुनावका लागि खटिन नेताहरूलाई निर्देशन दिँदै आएका छन् । ‘प्रतिनिधिसभा पुनःस्थापना हुने कुरा कहाँबाट आयो ? कसले भन्यो पुनःस्थापना हुन्छ भनेर ? पुनःस्थापना हुँदैन । उहाँहरूले कार्यकर्ता झुक्याउन भन्नुभएको होला,’ प्रधानमन्त्रीको भनाइ थियो, ‘प्रतिनिधिसभा विघटन गरेर नयाँ जनादेशका लागि जाने सिफारिस लोकतन्त्र, संविधान, स्थिरता र स्थायित्व खतरामा परेकाले हो ।’ कतिपयले प्रतिनिधिसभा पुनःस्थापना हुन्छ भनेर कुप्रचार गरिएको भन्दै उनले आफूसँग लगभग दुई तिहाइ हुँदाहुँदै निर्वाचन चाहियो भनेकाले पुनःस्थापना नहुने ठोकुवा गरे । संविधानको धारा ७६ (७) अनुसार प्रतिनिधिसभा विघटनको सिफारिस गरेको पनि दोहोर्‍याए ।

प्रतिनिधिसभा पुनःस्थापना भएपछिको गठबन्धनबारे विभिन्न सञ्चारमाध्यमले अनावश्यक हल्ला फैलाएको भन्दै प्रधानमन्त्री ओली आक्रोशित भएका थिए । बेलायत र इजरायलको उदाहरण दिँदै उनले आफूले गरेको प्रतिनिधिसभा विघटन सही र स्वाभाविक भएको तर्क गरे । सामान्यतः अदालतमा विचाराधीन मुद्दामा बोल्न नहुने मान्यता छ । तर ओली त्यतिमा मात्र रोकिएनन् । उनले पार्टीको आधिकारिक व्यक्ति को हो र आधिकारिक पार्टी तथा निर्णय कसको हो भनेर छुट्याउन निर्वाचन आयोग र सर्वोच्च अदालत सक्षम रहेको बताए ।

चर्चित कलाकार चार्ली च्याप्लिनको कथा सुनाउँदै ओलीले पार्टीको आधिकारिकताबारे अदालतले आफ्नो पक्षमा फैसला गर्ने बताए । ‘एकपटक चार्ली च्याप्लिन जस्तो को छ भनेर प्रतिस्पर्धा भएछ । त्यसमा चार जना अन्तिममा पुगेछन् । त्यो प्रतियोगितामा चार्ली च्याप्लिन पनि सहभागी भएको रहेछ । तर अन्तिम चारमा ऊ पुगेको रहेनछ,’ उनले थपे, ‘हाम्रो अदालतले को हो असली चार्ली च्याप्लिन भन्ने पत्ता लगाउँछ । जुँगा, कपालमा लगाएको जेल र कुम हल्लाइबाटै पत्ता लगाउँछ ।’

उनले सूर्य चुनाव चिह्न आफूसँगै रहेको भन्दै कुनै शंका नगर्न कार्यकर्तालाई आग्रह गरे । पार्टीको कार्यकारी अध्यक्ष दाहाललाई दिँदा उनले पार्टी आफ्नो भएको जस्तो व्यवहार देखाएको ओलीले बताए ।

‘उहाँहरूले एउटा निवेदन हाल्नुभएको रहेछ, असली हामी हौं भनेर, यो बरमझियाको बूढाको पेडा पसल हो असली र नक्कली रु असली बूढो मै हुँ भनेर अहिले उहाँहरूले पेरिसडाँडामा पत्रकार सम्मेलन गर्नुभएको छ,’ ओलीले भने, ‘जसको घर हो, ऊ मेरो घर हो भनेर निवेदन हाल्न जानुपर्छ रु हामीले बनाएको पार्टीर् हो, हामी निवेदन हाल्न जान जरुरी छैन । अब भेट्नु कुहिएर झरेका दुइटा फलले रूखै मै हुँ भनेर दाबी गर्ने  ?’

उनले अलिअलि मान्छे त रत्नपार्कमा सिसीमा औषधि बेच्नेले पनि भेला पार्न सक्ने बताए । उनले दाहाल, नेपाल र झलनाथ खनाललाई पार्टीमा फर्कन आग्रह गरे । आफूले झैं देशको चिन्ता गर्न र निर्वाचनमा मुलुक गइसकेकाले अन्यथातिर नलाग्न भने । ‘अस्ति हाम्रो पार्टीको बैठकमा सहभागी नभएका एकाथरीले भेला गरेछन् । अहिले भर्खर सुरु भएको छ उहाँहरूको हालत । माथिका नेताहरूको ध्यान जम्माजम्मी कुर्सीमा छ, पदमा छ,’ ओलीले भने, ‘पद चाहिएको हो भने त पाउने ठाउँमा लाग्नुपर्‍यो नि । सुन्तला खाने हो भने सुन्तलाघारीतिर पो लाग्नुपर्थ्यो, सल्लाघारीतिर गएर हुन्छ ?’ यो समाचार आजको कान्तिपुर दैनिकमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस