पुस ११, ताप्लेजुङ। प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर नजिकैको जंगलमा भीषण डढेलो लागेको छ । फावाखोलाको सिम्बु सामुदायिक वनमा तीन दिनदेखि डढेलो लागिरहेको स्थानियले जानकारी दिए ।
डढेलो निकै ठूलो भएकाले नियन्त्रणमा लिन सक्ने अवस्था नरहेको स्थानियको भनाई छ । सो क्षेत्रमा पानीको पनि अभाव भएको र विषेशगरि गभ्रे सल्लाको जंगल भएकाले पनि डढेलो नियन्त्रण बाहिर रहेको छ । अहिले हावा समेत जोडले चल्न थालेकाले आगो झनै दन्किरहेको स्थानियले बताए । स्थानियका अनुसार आगो तत्काल नियन्त्रणमा लिन नसके मन्दिरसम्मै पुग्ने सम्भावना छ ।
आगलागी नियन्त्रणका लागि सदरमुकाम फुङलिङबाट नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली प्रस्थान गरेको छ । यही गतिमा फैलिए आगो फेदीको मानव बस्तीमा समेत आइपुग्ने सम्भावना रहेको स्थानिय बताउँछन् ।