मंसिर १९, काठमाडौं । कर्णाली प्रदेशको अवस्था केही वर्षअघिसम्म यस्तो थियो, आधा नागरिक गरिब। रोजगारीका लागि भारतसहित तेस्रो मुलुक जानुपर्ने बाध्यता। विकासको गति सुस्त। नागरिक निरास। तर, पुष्पलाल (मध्यपहाडी) लोकमार्ग निर्माणसँगै विकासको ढोका खुल्न थालेको छ। स्थानीयमा तीव्र विकासको आशा पलाएको छ। उनीहरूको आर्थिक अवस्थामा सुधार आउन थालेको छ।

फाइल फाेटाे
‘लोकमार्ग खुलेपछि बेस्तडामा बजार चम्किएको छ। व्यापार र व्यवसाय पनि फस्टाउँदो छ’, दैलेखका कृष्ण अधिकारी भन्छन्, ‘अन्य स–साना बजार विस्तार हुने क्रम तीव्र छ। हामी गाउँका नागरिकलाई बजारसम्म जोड्यो।’
लोकमार्गअन्तर्गत कर्णालीका रुकुम पश्चिम, जाजरकोट, दैलेख र सुदूरपश्चिम प्रदेशको अछामसम्म गरी ४ सय ४० किलोमिटर पर्छ। दैलेखको राकम प्रदेशकै नमुना सहरका रूपमा स्थापित हुने क्रममा छ। कर्णाली राजमार्ग र मध्यपहाडी लोकमार्ग दुवैले छुने भएपछि राकममा दैलेख, कालिकोट र अछामबाट मानिसहरू बस्न आएका छन्। सरकारी संयन्त्र पनि पुगेका छन्। यसले स्थानीयलाई सरकारी सेवा लिन घण्टौं हिँड्नुपर्ने बाध्यता टरेको छ। यस्तै, रूकुमको चौरजहारीमा बजार फस्टाएको छ।
‘लैनचौरको गाउँसमेत बजारमा परिणत भएको छ’, चामुण्डाविन्द्रासैनी नगरपालिकाका मदन विक भन्छन्। बस्ती नै नभएको ठाउँमा पनि लोकमार्ग खुलेपछि बजार विकास भइरहेको उनको भनाइ छ। लोकमार्गका कारण स्थानीय कृषिजन्य बस्तुले बजार पाउन थालेका छन्। दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज भएको छ।
लोकमार्ग आयोजना कार्यालय दैलेखअन्तर्गत लुम्बिनी प्रदेशको रुकुम पूर्वबाट सुदूरपश्चिमको अछामसम्म निर्माण कार्य तीव्र गतिमा छ। यो खण्डको स्तरोन्नतिअन्तर्गत सडक ग्राभेल, कालोपत्रे, पुल निर्माणलगायत काम धमाधम भइरहेका छन्। रूकुमपूर्व र रुकुम पश्चिमअन्तर्गत १ सय २५ किलोमिटरमध्ये ४६ किमि कालोपत्रे भइसकेको इन्जिनियर मनीष सिंह बताउँछन्। जाजरकोट खण्डमा पर्ने ८३ किमि भने कालोपत्रेको काम बाँकी छ। दैलेख खण्डको १ सय २५ किमिमध्ये १९ किमि कालोपत्रे भइसकेको छ। चालु वर्ष ३५ किमि कालोपत्रे सम्पन्न हुने इन्जिनियर सिंह बताउँछन्। उनका अनुसार बाँकी खण्ड स्तरोन्नतिको कामले गति लिएको छ।
अछाममा १सय७ किमिमध्ये १ सय २ किमि कालोपत्रे भई सञ्चालनमा आएको छ। बाँकी पाँच किमि फागुनभित्र कालोपत्रे भइसक्ने आयोजनाको दाबी छ। यो खण्डमा नौवटा पुल निर्माणाधीन छन्। पुल निर्माण, ग्राभेल, सडक कालोपत्रेलगायत कार्यका लागि २९ वटा ठेक्कामार्फत काम भइरहेको छ। ती ठेक्काअन्तर्गत ४१ प्रतिशत काम सम्पन्न भइसकेको इन्जिनियर सिंहको भनाइ छ। रुकुम पूर्वबाट अछामसम्मको खण्डमा ४ अर्ब ४३ करोड रुपैयाँ खर्च भएको छ।
रोकिँदै बसाइँ
ताप्लेजुङको सिदिङ्वा–१ कालिखोलाका विजय लिम्बूले आठ वर्षअघि झापाको बिर्तामोडमा १० धुर जग्गा किनेर घर बनाए। छोराछोरी पढाउन र बिरामी भए समयमा उपचार पाउने आसमा कालिखोलाको जग्गा बाँझै छाडेर उनी झापा झरेका थिए। तर, एक वर्षअघि गाउँ फर्किएर उद्यम गर्ने वातावरण लोकमार्गले जुटाएको उनी बताउँछन्।
‘पहिले सदरमुकाम फुङलिङ जान पनि दुई–तीन दिन हिँड्नुपथ्र्यो। उपचार नपाएर गाउँमै ज्यान जान्थ्यो। कृषि उपजले पनि बजार पाउँदैनथ्यो’, उनी भन्छन्, ‘लोकमार्गनजिकैको च्याङथापुसम्म पुग्दा सबै कुरा सहज भएको छ।’
पाँचथरको च्याङ्थापु र कालिखोला सिमाना जोडिएको गाउँ हो। च्याङथापुसम्म लोकमार्ग पुग्दा ताप्लेजुङको पूर्वी क्षेत्र कालिखोलासहित पाँचथरका चिवाभञ्ज्याङ, च्याङथापु, ओयाम र थर्पु क्षेत्रको मुहार नै परिवर्तन भएको छ। विगतमा गावैं रित्याएर बसाइँ जाने प्रवृत्ति रहेकामा अहिले स्थानीयवासी लोकमार्ग आसपास र नयाँ बस्तीमा घर बनाएर उद्यम गर्न जुटेका छन्।
‘मध्यपहाडी लोकमार्ग हाम्रो क्षेत्रका लागि समृद्धिको सेतु नै बनेको छ’, थर्पुका सबिन माबो भन्छन्, ‘सडक बनेसँगै ग्रामीण क्षेत्रमा पनि आर्थिक गतिविधि बढेको छ। बसाइँ जाने क्रम रोकिएको छ।’
लोकमार्गलाई आधार बनाएर गाउँ–गाउँमा शाखा सडक विस्तार भएका छन्। स्थानीय कृषिउपजले बजार पाएको छ। ‘विकासको पहिलो आधार भनेकै सडक रहेछ’, याङवरक–१ च्याङ्थापुका वडाध्यक्ष मोहन ढुंगेल भन्छन्, ‘सडक विस्तार भएपछि गाउँको हरेक उत्पादनले बजार पाएको छ। किसानको आम्दानी बढेको छ।’
याङ्वरकको चिवाभञ्ज्याङ लोकमार्गको उद्गमस्थल हो। चिवाभञ्ज्याङबाट बैतडीको झुलाघाटसम्म जोडिने लोकमार्गको काम प्रदेश १ मा धमाधम भइरहेको छ। पाँचथरलगायत जिल्लामा लोकमार्गको काम अन्तिम चरणमा पुगेको छ। लोकमार्गले प्रदेश १ का पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा र उदयपुर जिल्लालाई छोएको छ। सबै जिल्लामा काम तीव्र गतिमा भइरहेको आयोजनाले जनाएको छ।
चिवाभञ्ज्याङबाट थर्पुको दारिम्बासम्म ५१ किमि कालोपत्रे हुने भएको छ। ‘कालोपत्रेका लागि कात्तिक १८ गते टेन्डर खुलाइएको छ’, लोकमार्ग आयोजना पाँचथर फिदिमका योजना प्रमुख सुरेश न्यौपाने भन्छन्, ‘निर्माण कम्पनी छनोट प्रक्रिया तीन महिनामा पूरा हुन्छ।’ त्यसपछि कालोपत्रेको काम धमाधम अघि बढ्नेछ। करिब ३ अर्ब लगानीमा उक्त सडक कालोपत्रे गर्न लागिएको हो।
चिवाभञ्ज्याङबाट तेह्रथुमको आठराई जोड्ने तमोर नदीसम्म १ सय ११ किमि पाँचथरमा पर्छ। जसमध्ये तमोरबाट जोरसालसम्म ११ किमि र गणेशचोकबाट दारिम्बासम्म नौ किमि कालोपत्रे भइसकेको छ। जोरसालबाट गणेशचोकसम्म ४० किमि सडक मेची राजमार्गमा गाभिएको छ। उक्त खण्ड कालोपत्रे भइसकेको छ। बाँकी ५१ किमि कालोपत्रे गर्ने प्रक्रिया पनि सुरु भएको छ। ‘पाँचथरमा मध्यपहाडीको काम अन्तिम चरणमा पुगेको छ’, न्यौपानेले भने।
जोरसालबाट तमोरसम्म ११ किमि र गणेशचोकबाट दारिम्बासम्म नौ किमि सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गर्ने तयारी छ। ‘कोरोनाका कारण आयोजनाको काममा केही समय असर पुगेको हो’, उनी भन्छन्, ‘अब कोरानासँगै काम गर्नुपर्ने भएको छ।’
तेह्रथुम खण्डमा पनि धमाधम काम भइरहेको छ। तेह्रथुमको तमोर नदीबाट संक्रान्ति बजारसम्म २५ किमि कालोपत्रे सकिएको छ। न्यौपानेका अनुसार म्याङलुङ वसन्तपुर खण्डमा पनि काम धमाधम भइरहेको छ। ‘म्याङलुङबाट वसन्तपुरसम्म २० किमिमा नयाँ प्रविधिबाट काम गर्नुपर्ने भएको छ’, न्यौपाने भन्छन्, ‘यो ठाउँमा स्पाल्ट कंक्रिट गर्नुपर्ने भएको हो।’
नयाँ सहर सँगै
सरकारले लोकमार्गले छुने स्थानमा निर्माण गर्ने जनाएको १० नयाँ सहरको कामसँगै अघि बढेको छ। १० सहरका साथमा लोकमार्गमा पर्ने २४ जिल्लाका २ सय २५ ग्रामीण बस्ती बजारमा परिणत हुन थालेको न्यौपाने बताउँछन्। ती बस्तीलाई सडक सञ्जालले जोड्दा ७० लाखभन्दा धेरै स्थानीय लाभान्वित हुनेछन्।
पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी, तनहुँको डुम्रे, बागलुङको बुर्तिवाङ, रुकुमको चौरजहारी, दैलेखको राकम कर्णाली, अछामको साँफेबगर र बैतडीको पाटनलाई नयाँ सहरमा विकास गरिँदै छ। यी बजारलाई सुविधासम्पन्न सहर निर्माण गरेर १ लाख मानिसलाई व्यवस्थित रूपमा राख्ने योजना छ। यी सहरलाई २०९० सालभित्र सुविधासम्पन्न बनाउने सरकारको लक्ष्य छ।
सुदूरपश्चिममा अन्तिम चरणमा
लोकमार्गअन्तर्गत सुदूरपश्चिम खण्ड निर्माण अन्तिम चरणमा पुगेको छ। तोकिएको समय एक वर्षअघि नै सकिए पनि सुदूरपश्चिमको एक मात्र अछाम जिल्लामा निर्माण अन्तिम चरणमा पुगेको हो। सडक विभागले ०७६ सालसम्म सम्पूर्ण लोकमार्ग कालोपत्रे गरिसक्ने समय तोकेको थियो। सुदूरपश्चिमका अछाम, बैतडी, बझाङ र डोटी गरी चार जिल्लामा मात्र लोकमार्गको रेखांकन परेको छ।
बैतडीमा जिल्ला सदरमुकामबाट झुलाघाटसम्म झन्डै साढे १४ किमि कालोपत्रे भइसकेको छ। बैतडीकै अनारखोलीबाट सदरमुकाम हुँदै नेपाल–भारत सीमासम्म झन्डै ७० किमि लोकमार्गमा परेको थियो। भीमदत्त पन्त राजमार्गको अनारखोलीबाट दशरथ चन्द राजमार्गको गोठलापानीसम्म कालोपत्रे भइसकेको छ। अछामको बेलखेत–विनायक–मंगलसेन–साफेबगर करिब ६१ किमिमध्ये १३ किमि मात्रै कालोपत्रे हुन बाँकी छ।
‘विनायक पश्चिमको १५ किमिमध्ये २ किमि सडक कालोपत्रे भइसकेको छ। ७ किमिमा सबबेसको काम भइरहेको छ’, पश्चिम आयोजना कार्यालय प्रमुख अर्जुनबहादुर बम भन्छन्। अछामको प्याकेज सकिएसँगै सुदूरपश्चिममा लोकमार्ग निर्माण सकिने बमको भनाइ छ।
डोटीमा पर्ने ८१ किमि लोकमार्ग पहिलेदेखि कालोपत्रे छ। केआईसिंह राजमार्ग र पहलमानसिंह राजमार्गलाई नै लोकमार्गका रूपमा राखिएकाले डोटीमा ठेक्का नलागेको सडक डिभिजन डोटीका सूचना अधिकारी इन्जिनियर वीरेद्रबहादुर चन्द बताउँछन्। लोकमार्गका नाममा छुट्टै बजेट नआएको र नियमित रूपमा सडक मर्मत भन्दै रकम आइरहने सडक डिभिजन डोटीले जनाएको छ। कर्णाली प्रदेशको दैलेखमा रहेको कार्यालयले कर्णालीका पाँच र सुदूरपश्चिमको एक जिल्ला ९अछाम०को निर्माण हेरिरहेको बमको भनाइ छ। लोकमार्गले पूर्वका पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, काभ्रे र सिन्धुपाल्चोक, काठमाडौंभन्दा पश्चिमका नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, रुकुम, जाजरकोट, दैलेख, अछाम, डोटी, डडेलधुरा, बैतडीलाई जोडेको छ।
गाडी चढ्न घण्टौं हिँड्नुपर्दैन
सिन्धुलीका स्थानीय विगतमा सवारी साधन चढ्न घण्टौं हिँडेर खुर्कोट या उदयपुरको कटारीसम्म पुग्नुपर्ने बाध्यता थियो। लोकमार्ग आसपासका स्थानीय हिजोआज घरआँगनबाट सवारी साधन चढ्न पाउँछन्।
गोलन्जोर गाउँपालिकाको डुडभञ्ज्याङ च्याकुटारका होटल व्यवसायी होमनाथ न्यौपाने लोकमार्गले स्थानीयको जीवनमा परिवर्तन ल्याएको बताउँछन्। उनीजस्तै मध्यपहाडी क्षेत्रका सयौंैं युवा गाउँमै होटल व्यवसाय गरेर परिवार पालिरहेका छन्। यस क्षेत्रमा होटल मात्र साना–ठूला गरी ३ सयभन्दा बढी सञ्चालितनमा आइसकेका छन्।
लोकमार्ग निर्माणले जग्गाको मूल्य बढेको छ। पहिले २ लाख रुपैयाँ रोपनीमा पाइने जग्गाको मूल्य २० लाखसम्म पुगेको छ। ‘बाटोले त हाम्रो गाउँलार्ई स्वर्गजस्तै बनाइदियो’, डुडभञ्ज्याङकै सोमप्रसाद बराल भन्छन्, ‘पहिले २ लाख रुपैयाँमा किनबेच हुने जग्गा अहिले २० लाखसम्म किनबेच हुन थालेकोे छ।’ खुर्कोटबाट घुर्मीसम्म लोकमार्गले छोएका जग्गाको मूल्यमा अत्यधिक वृद्धि भएको हो।
सिन्धुलीका गोलन्जोर, फिक्कल गाउँपालिकासहित ओखलढुंगा, सोलु, खोटाङ, उदयपुरलगायत जिल्लाका बासिन्दाको जीवनस्तरमा परिवर्तन आएको गोलन्जोर गाउँपालिकाका अध्यक्ष पुष्प कार्कीको भनाइ छ। लोकमार्गअन्तर्गत खुर्कोट–घुर्मी खण्डको निर्माण अन्तिम चरणमा पुगेको छ।
लोकमार्गअन्तर्गत पर्ने १० नमुना सहरमध्ये एउटा सिन्धुलीको खुर्कोटमा परेको छ। यहाँ स्थानीयको ६ सय ६८ रोपनी जग्गा लिएर निर्माण थालिएको योजनाका कुनै पनि काम पूरा हुन नसकेको स्थानीय रामकुमार श्रेष्ठको गुनासो छ। नयाँ सहरी आयोजना खुर्कोटका उपप्रमुख सुदीप श्रेष्ठका अनुसार आयोजनामा ३५ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। लोकमार्गअन्तर्गत धादिङ खण्ड भने राजनीतिक खिचातानीका कारण अलपत्र छ। धादिङ खण्ड बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने भएपछि काम स्थगन गरिएको थियो। नुवाकोटको सामरी भञ्ज्याङबाट धादिङको कटुन्जे प्रवेश गरेर खहरे बजार, सल्यानटार हुँदै गोरखा जाने गरी सर्भे डिजाइन गरिएको ठाउँमा सडक चौडा पार्ने कामसमेत सकिएको थियो। सरकारले ०६८ सालमा बूढीगण्डकी आयोजना बनाउने निर्णय गरेसँगै लोकमार्गको धादिङ खण्ड आयोजनाको डुबान क्षेत्रभित्र पर्ने भएपछि निर्माण रोकिएकोे थियो।
नयाँ ठाउँबाट ट्र्याक खोलेर काम अघि बढाउने भनिए पनि नेकपा विवादको असर देखिएको छ। पूर्वएमाले खेमाले एक ठाउँबाट र पूर्वमाओवादी खेमाले अर्को ठाउँबाट बाटो खन्नुपर्ने अडान राखेकाले धादिङ खण्डमा प्रगति शून्यप्रायः छ। गाउँमै पक्की सडक बन्ने र त्यससँगै विकासका अन्य पूर्वाधार निर्माणको सम्भावना पनि बढ्ने आशामा तुषारापात भएको नेत्रावती गाउँपालिका–५ कटुन्जेका अर्जुन सापकोटा बताउँछन्।
जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल राजनीतिक खिचातानीकै कारण काम अलपत्र भएको स्विकार्छन्। नुवाकोटबाट धादिङ प्रवेश गरेर कटुन्जेको १५ कोषेसम्म सडक चौडा पार्ने काम भइसकेको छ। त्यहाँबाट अघि लैजाने विषयमा सत्ताधारी दलबीचको टकरावले लोकमार्ग निर्माण नै अन्योलमा परेको उनी बताउँछन्।
कास्कीमा सुस्त
लोकमार्गका थुप्रै भाग पोखरा–बागलुङ राजमार्गमा पछन्। यो राजमार्गको थुप्रै भाग भताभुंग छ। सडक स्तरोन्नति सुरु गरिए पनि गति सुस्त छ। कास्कीमा ७६ किमि लोकमार्ग पर्छ। अधिकांश ठाउँमा काम पूरा भएको छैन।
लोकमार्गअन्तर्गत कास्कीको काम पर्वतस्थित कार्यालयले हेर्दै आएको छ। कार्यालय प्रमुख मेघराज मरासिनी लकडाउनलगायत कारण काममा ढिलासुस्ती भएको बताउँछन्। कास्कीका कतिपय खण्डमा भर्खर ठेक्का लागेको मरासिनीको भनाइ छ।
गोरखा खण्डमा काम सुरु भएको ६ वर्षमा ३० प्रतिशत प्रगति भएको छ। यहाँ पाँच खण्ड बनाएर काम भइरहेको छ। पाँच किमिको एक खण्डको काम शतप्रतिशत प्रगति भएको छ। दुई खण्डको काम सुरु भएको छैन।
बागलुङ खण्डको २५ किमि सडक अलपत्र छ। जिल्ला सदरमुकामसँग जोडिएको घोडाबाँधेसम्मको २५ किमि सडक कालोपत्रे हुन सकेको छैन। सडक विस्तार, ग्राभेलको काम नहुँदा दैनिक सास्ती व्यहोर्नुपरिरहेको सवारी चालक पदम विकको गुनासो छ। बुर्तिबाङबाट ६७ किमि सडक दुई घण्टामा पार गरेर घोडाबाँधेसम्म आएका सवारीलाई त्यहाँबाट २५ किमि दूरीमा रहेको सदरमुकाम आउन उत्ति नै समय लाग्ने गरेको चालक विक सुनाउँछन्। लोकमार्गअन्तर्गत बागलुङमा १ सय ४२ किमि दूरी पर्छ।
लमजुङको सुन्दरबजारमा स्थानीयको अवरोधले ६ वर्षदेखि सर्भे हुन सकेको छैन। बस्तीभित्रको सडकको लगतकट्टा भएको छैन । स्थानीयले संघर्ष समिति बनाएर अवरोध गरिरहेका छन्। संघर्ष समितिका संयोजक उत्तम गुरुङ अहिलेको सडकबाट लोकमार्ग बनाउन नदिने बताउँछन् । सरकारले चाहे विकल्प निकालेर तल–माथिबाट सडक लैजान सक्ने उनको भनाइ छ।
गोरखामा आरुघाटबाट ओख्लेसम्मको १३ किमि कालोपत्रेको काम ६ वर्षमा ७० प्रतिशत पूरा भएको छ। ‘ओख्लेबाट खहरेसम्मको १६ किमि कालोपत्रे गर्ने काममा ४५ प्रतिशत प्रगति भएको छ’, कार्यालयका सूचना अधिकारी इन्जिनियर गोविन्दकुमार श्रेष्ठ भन्छन्, ‘खहरेबाट मसानेठाँटीसम्मको १२।३ किमि र मसानेठाँटीबाट ठाँटीपोखरीसम्मको १५।७ किमि कालोपत्रे गर्न यस वर्ष टेन्डर प्रक्रिया थालिएको छ।’ ठाँटीपोखरीबाट चेपेघाटसम्मको ६ किमि कालोपत्रे भइसकेको उनको भनाइ छ। आरुघाटबाट चेपेघाटसम्म ६३ किमि खण्ड गोरखामा पर्छ। यहाँ तीनवटा पुल निर्माणको काम पनि छ।
पर्वत खण्डमा ६० प्रतिशतभन्दा बढी काम सकिएको आयोजना कार्यालय प्रमुख मरासिनीको भनाइ छ। उनका अनुसार अहिले निर्माणको गति तीव्र छ। यहीअनुसार काम भए असारभित्र सबै काम सम्पन्न हुने देखिएको उनी बताउँछन्।
लकडाउनलगायत कारणले ६ महिनाभन्दा बढी रोकिएको काम तीव्र रूपमा अगाडि बढेको लामा कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर गोविन्द भुसालको भनाइ छ। उनका अनुसार केही भागमा कालोपत्रे भइसकेको छ। पर्वत प्रवेशद्वारबाट मालढुंगासम्म २३.७६९ किमि स्तरोन्नतिका लागि कम्पनीले ८३ करोड ९८ लाख रुपैयाँमा ठेक्का लिएको हो। पर्वत खण्डको २३ किमिमध्ये स्टक्चरको काम ९५ प्रतिशत सकिएको छ। यो समाचार आजको अन्नपुर्ण पोष्टमा रहेको छ ।