मंसिर १७, काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले ‘लाञ्छना र आरोपपत्र’को छलफल सचिवालय बैठकमा हुन नसक्ने भएकाले त्यसलाई फिर्ता लिनुपर्ने अडान राख्नुभएको छ । अध्यक्ष ओलीले सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको प्रस्ताव ‘लाञ्छना, आरोप, कुण्ठा र प्रतिशोध’को पोका मात्र भएकाले त्यसलाई फिर्ता लिएर सहमतिको बाटोबाट अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले सचिवालय बैठक अगाडि बढाउन अर्का अध्यक्ष दाहाललाई आग्रह गर्नुहुँदै दाहालद्वारा प्रस्तुत कुण्ठा, आग्रह, पूर्वाग्रहसहितको आरोपपत्रलाई स्वीकार नगर्ने स्पष्ट पार्नुभयो । स्रोतका अनुसार अध्यक्ष ओलीले पार्टी सङ्गठन, विधान, विधि र प्रक्रिया विपरीत कुन बैठकको निर्णय अनुसार प्रस्ताव छापेर बाँडिएको हो भन्दै प्रश्न गर्नुभएको थियो । बैठकमा अध्यक्ष ओलीले पार्टीलाई विभाजन गर्ने बाटोतिर गतिविधि अगाडि बढाएकोमा आपत्ति प्रकट गर्नुहुँदै भन्नुभयो, “अनधिकृत रूपमा पार्टी कार्यालय र छापको दुरुपयोग गरी पुस्तक छापेर अनुशासन उल्लङ्घन गर्नेमाथि कारबाही किन नगर्ने रु” अध्यक्ष ओलीले पार्टी एकतामा अगाडि बढ्ने हो भने सहमतिको बाटोबाट हिँड्नुपर्ने स्पष्ट पार्नुहुँदै भन्नुभयो, “पार्टी एकताको पक्षमा म आफ्नो बल र बर्कतले भ्याएसम्म लड्छु ।” सचिवालयको आगामी बैठकका विषयमा छलफल हुँदा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले आफ्नो कार्यव्यस्तताका कारण उपस्थित हुन नसक्ने भएकाले बुधबार बैठक नराख्न भन्नुभएको थियो । प्रधानमन्त्री एवं अध्यक्ष ओलीले मङ्सिर १३ गते र अर्का अध्यक्ष दाहालले कात्तिक २८ गते सचिवालय बैठकमा प्रस्ताव पेस गर्नुभएको थियो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकमा अध्यक्षद्वयले प्रस्तुत गर्नुभएको प्रस्तावमाथि छलफल सुरु भएको जानकारी दिनुभएको थियो ।
उहाँले भन्नुभयो, “पार्टीमा देखिएको सङ्कट समाधानका लागि सचिवालयमा पेस भएका दुवै प्रस्तावमाथि औपचारिक छलफल अगाडि बढाउने निर्णय भएको छ । त्यसका साथसाथै नेताहरूबीचमा अनौपचारिक छलफल, अन्तरक्रिया र संवादको प्रक्रिया पनि अगाडि बढाइने छ ।” “पार्टी एकताको रक्षा गर्दै पार्टीका समस्याहरूका कारण र समाधानका उपाय पहिचानसहित छलफल अगाडि बढाउने प्रयत्न भइरहेको छ,” उहाँले भन्नुभयो, बैठकमा हुने छलफलहरूले नै निष्कर्ष प्रदान गर्छ ।” यो समाचार आजको गोरखापत्र दैनिकमा रहेको छ ।