मंसिर ५, झापा । झापा जिल्ला अदालतले श्रीमती हत्याको अभियोगमा पक्राउ परेका एक जनालाई पुर्पक्षका लागि जेल चलान गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार गत असोज १५ गते श्रीमती हत्याको आरोपमा पक्राउ परेका गौरादह नगरपालिका–१ का ६४ वर्षीय भीमबहादुर भण्डारीलाई जिल्ला अदालत झापाको आदेशमा पुर्पक्षका लागि जेल चलान गरिएको हो ।
गत असोज १२ गते भण्डारीकी ६५ वर्षीया मनमाया भण्डारी आफ्नै घरमा मृतावस्थामा फेला परेकी थिइन् । घटनास्थलको अनुसन्धान, घरपरिवार, स्थानीयवासी, छरछिमेकका व्यक्तिसँग गरिएको कुराकानी र शव परीक्षणको रिपोर्टमा उल्लेख भएको मृत्युको समयमा मृतक मनमायाका श्रीमान भीमबहादुर घरमै रहेको पुष्टि भएपछि उनलाई पक्राउ गरिएको थियो ।
अदालतबाट असोज १६ गते म्याद थप गरी थप अनुसन्धान भई रहेकामा बिहीबार झापा अदालतको आदेशले भण्डारीलाई पुर्पक्षका लागि जिल्ला कारागार चन्द्रगढी चलान गरेको हो ।