• २०८३ बैशाख १८ गते शुक्रवार

कोरोना संक्रमित कर्मचारीले १४ दिन बिदा पाउने

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कार्तिक १४, काठमाडौँ । सरकारले कोरोना संक्रमित निजामती कर्मचारीलाई १४ दिन बिदा दिने तयारी गरेको छ । संक्रमण भएपछि सामान्यतया १४ दिन आइसोलेसनमा बस्नुपर्ने सरकारको नियमअनुसार बिदा दिन लागिएको हो ।

कर्मचारीमा संक्रमण हुने क्रम बढ्दै गएकाले उपचारको समयमा छुट्टै बिदाको माग हुन थालेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको छ । निजामती कर्मचारीले वर्षमा १२ दिन बिरामी बिदा पाउँछन् । तर, कोरोना संक्रमण भएको वेलालाई त्यो बिदाले नपुग्ने भएकाले छुट्टै बिदा दिने तयारी भएको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमित कर्मचारीलाई बिदा दिनेबारे गृह र स्वास्थ्य मन्त्रालयसँग छलफल चलिरहेको छ,’ संघीय मामिला मन्त्रालयका सहसचिव वसन्त अधिकारीले भने, ‘यससम्बन्धी प्रस्ताव हाम्रो मन्त्रालयले अघि बढाउने कि गृह मन्त्रालयले भन्ने टुंगो लागिसकेको छैन । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले यसबारे छलफल भएको र कर्मचारीसँग सम्बन्धित विषय भएकाले संघीय मामिला मन्त्रालयले नै प्रस्ताव मन्त्रिपरिषद् लैजान उचित हुने राय दिइएको बताए । यसअघि लकडाउनको अवधिमा कर्मचारीलाई सार्वजनिक बिदाको सुविधा दिने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो । संक्रमित कर्मचारीको हकमा पनि त्यस्तै निर्णय गर्न लागिएको छ ।

मुख्यसचिवसहित एक हजारभन्दा धेरै कर्मचारी संक्रमित

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार एक हजारभन्दा धेरै निजामती कर्मचारी कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् । पूर्ण विवरण प्राप्त भइनसकेको, तर एक हजारभन्दा धेरैमा संक्रमण भइसकेको मन्त्रालयका प्रवक्ता अधिकारीले बताए ।

सेवा दिने कार्यालयका कर्मचारीहरू धेरै संक्रमित भएका छन् । सिंहदरबारका विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारीहरू पनि संक्रमण हुने क्रम बढेको छ । मुख्यसचिव शंकरदास बैरागी आफैँ संक्रमित भएकाले आइसोलेसनमा छन् ।

उपत्यकासहित सेवा दिने अधिकांश कार्यालयहरू फूलपातीदेखि नै बन्द भएकोमा कहिलेदेखि सेवा सुचारु गर्ने भन्ने टुंगो लागेको छैन । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालमा समेत बिहीबार संक्रमण देखिएको छ । उपत्यकाका धेरैजसो मालपोत, यातायात कार्यालय बन्द छन् । जिल्ला प्रशासन र वडा कार्यालयले पनि अत्यावश्यक मात्र सेवा दिएका छन् ।

सरकारले सबै निजामती कर्मचारीको कोरोना बिमा गर्ने निर्णय गरेको थियो । सम्बन्धित कार्यालयले नै बिमा गर्न परिपत्र भए पनि कतिपय कार्यालयमा आफ्ना कर्मचारीको बिमा नगरेको पाइएको सामान्य प्रशासन मन्त्रालयका एक कर्मचारीले बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

Sharing

प्रतिक्रिया दिनुहोस