असोज २७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् जोखिम न्यूनीकरण र यसको सामना गर्न सरकारले निश्चित लक्ष्य, उद्देश्य, नीति र कार्य योजना बनाएरतीन वटै तहका सरकारले काम गरिरहेको बताउनुभएको छ ।

विपद् जोखिम न्यूनीकरण अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज आयोजित भर्चुअल समारोहमा सम्बोधन गर्दै उहाँले व्यापक जागरण, साझा प्रयास र शक्ति सङ्गठित गर्दै तीनै तह सरकारले कार्यायोजना बनाएर अघि बढिरहेको स्पष्ट गर्नुभयो । प्रधानमन्त्री ओलीले सुरक्षित र सभ्य मानवजाति, सुरक्षित विश्व, बस्नलायक, न्यायपूर्ण र समृद्ध धर्ती तथा सुखी मानवजातिका लागि काम गरिने बताउनुभयो । प्राकृतिक विपत्तिको सामना गर्ने काममा लाग्न सम्पूर्ण तह र तप्कालाई आग्रह गर्दै उहाँले विपद् जोखिम न्यूनीकरण र सामना गर्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय सङ्घ संस्थासँग मिलेर काम गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “रोक्नै नसक्ने प्राकृतिक प्रकोपप्रति सजगता राख्दै मानव गतिविधिले उत्पन्न गरेको जोखिम न्यूनीकरण गर्न समस्या उत्पत्तिका कारण पहिचान गरी काम गरिने छ । भूकम्पछिको पुनःनिर्माणको कामलाई सफलतापूर्वक अघि बढाएकै कारण ९० प्रतिशतमा सफलता मिलेको हो । अब हामीले बनाउने आवास, कार्यालय र सम्पदा सुरक्षित हुन भन्नेतर्फ पूर्ण सचेत हुन आवश्यक छ ।” प्रधानमन्त्री ओलीले कोरोना सङ्क्रमणपछिको अवस्थाले सबैलाई मानव जाति र समाजको सम्बन्धलाई देशको सीमाभन्दा माथिबाट बुझ्न र एकअर्काको भविष्य कति अन्तरसम्बन्धित छ भन्ने सन्देशसहित सामूहिक मानवतावादी नयाँ विश्व व्यवस्थातर्फ जानुपर्ने कुरालाई झकझक्याएको बताउनुभयो ।