मंसिर १७, काठमाडौं । नाबालिकाहरूलाई यौन क्रियाकलापमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा तनहुँ भिमाद नगरपालिका-२ घर भई काठमाडौं टोखा नगरपालिका-९ नयाँ बसपार्क बस्ने २५ वर्षीया सपना तामाङ भन्ने पुजा रानालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । नयाँ बसपार्क तथा कलंकीस्थित बिभिन्न होटल गेष्ट हाउसहरुमा नाबालिकाहरुलाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी यौन गतिविधिमा लगाउने गरेको सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।

उनले आर्थिक अवस्था कमजोर भएका, ग्रामीण भेगका कम पढेलेखेका बालिकाहरुलाई विभिन्न काममा लगाई दिने तथा आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारी बोलाउने गरेको, नाबालिकाहरुलाई बसपार्क र कलंकीस्थित बिभिन्न होटल तथा गेष्टहाउसहरुमा राख्ने गरेको, नाबालिकाहरुलाई बिगत १० महिना देखी बिभिन्न डर त्रास देखाई जबरजस्ती शारीरिक सम्पर्क राख्न बाध्य पार्ने गरेको र बालिकाहरुलाई ग्राहक खोजी आर्थिक लाभ लिई अन्य होटल तथा गेष्टहाउसहरु समेतमा पठाउने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।
साथै मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहल र मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको क्षेत्रमा कार्यरत संस्थाको संयुक्त टोलीले कलंकीबाट १ जना र नयाँ बसपार्कबाट २ जना गरी ३ जना नाबालिकाहरुको उद्दारसमेत गरेको छ ।
