असोज २७, तनहुँ । कारागारमा रहेका कैदीबन्दीमध्ये २७ जना कैदीबन्दीले कैद सजायमा छुट पाएर घर गएका छन् । सर्वोच्च अदालतले कोभिड–१९ महामारीमा उच्च जोखिमका कैदीबन्दीको सजाय छुट दिने व्यवस्थाअनुरुप ती कैद मिनाहा गरिएको कारागार प्रशासनले जनाएको छ । अदालतबाट एक वर्षभन्दा कम सजाय तोकिएका कैदीबन्दीले दिनको रु ३०० का दरले कैद भुक्तानबापतको रकम तिरेर छुट पाउने व्यवस्था रहेकाले उनीहरुको कैद मिनाहा भएको तनहुँ कारागारका निमित्त जेलर नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

गत चैत ११ गतेदेखि असोज २६ गते आइतबारसम्ममा २७ जनाको कैद मिनाहा भएको हो । उनले भने, “कानूनी व्यवसायीको सहायतामा अदालतमा निवेदन दिएपछि प्राथमिकताको आधारमा जोखिममा रहेकालाई छुट दिने कानूनी व्यवस्था रहेको छ ।” कैद मिनाहामा वृद्धा, अशक्त, रोगीले प्राथमिकता पाउने नियम रहेको कारागारले जनाएको छ । यसरी छुट पाउनेमा अधिकांश सवारी ज्यान मुद्दाका रहेका छन् भने केही काठ मुद्दा, चोरी मुद्दा र लागुऔषध र ठगी मुद्दाका रहेका छन् । पच्चीस क्षमताको उक्त कारागारमा सोमबार आजसम्म कैदी १४९ र थुनुवा ६५ गरी जना कूल २१४ जना कैदीबन्दी रहेका छन् । धेरै कैदीबन्दी भएकाले ८० जनाक्षमता रहेको महिला बन्दीगृहमा पुरुष राखिएको र महिलालाई पोखरा पठाउने गरिएको कारागारले जनाएको छ ।