असोज १३, बाँके । बाँके जिल्लामा कोरोना सङ्क्रमणका कारण मंगलबार बिहान दुई जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेको अनुसार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ रानीतलाउ निवासी ४१ वर्षीय र कोहलपुर नगरपालिका वडा नंं १० निवासी ५३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएकोे हो ।
अस्पतालका अनुसार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, इको विभागमा कार्यरत ४१ वर्षीय पुरुष निमोनियाबाट ग्रसित हुनुहुन्थ्यो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गत भदौ ३१ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको थियो । कोरोनाको आशङ्कामा स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना पुष्टि भएपछि शिक्षण अस्पताल कोहलपुरको कोभिड आइसोलेशन वार्डमा भर्ना गरी रोगको प्रकृतिअनुसार गरिनुपर्ने सबै प्रकारको उपचार गर्दासमेत बिरामीको अवस्थामा सुधार आउन नसकी उपचारकै क्रममा मृत्यु भएको हो ।
शिक्षण अस्पताल कोहलपुरमै उपचाररत कोरोना सङ्क्रमित कोहलपुर– १० निवासी ५३ वर्षीय पुरुषको पनि उपचारकै क्रममा अस्पतालमै मृत्यु भएको हो । उहाँ पनि निमोनियाबाट ग्रसित रहेको र स्वास्थ्यमा समस्या देखिएपछि असोज ४ गते अस्पताल भर्ना गरिएको थियो । उहाँको स्वाब परीक्षण गर्दा असोज ६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ ।