• २०८३ कार्तिक २३ गते आइतवार

कविता “मन छ !”

जागृत थापामन क्षेत्री) पढ्न लाग्ने समय : १ मिनेट

थाकेका तिम्रो काँधको भार, बोकिदिने मन छ।
शरीरभरी लागेका घाउमा मलम, मलिदिने मन छ।।
सपनाको तिम्रो भारी गन्तव्यमा, पुराइदिने मन छ।
हो बुबा, मलाई तिम्रा फाटेको जुत्ता, फेरिदिने मन छ।।

सङ्घर्षमै बितेका तिम्रा दिनलाई, आराम दिने मन छ।
वर्षौँदेखि भोका तिम्रा पेटलाई, अगाउन हाल्ने मन छ।।
रङ्गीविरङ्गी साडी लगाउने तिम्रा इच्छा, पुराइदिने मन छ।
हो आमा, तिमीलाई सँधै देवी बनाई, पुजिरहने मन छ।।

लाली पाउडर दल्ने ‌तिम्रा इच्छा, पुरा गरिदिने मन छ।
तिम्रा साथीसङ्गीहरू गएकै ठाउँ, दिलाइदिने मन छ।।
ल्यापटप अनि मोबाइल पनि, दिलाईदिने मन छ।
हो, बहिनी मलाई तिम्रो ओंठमा हाँसो, भरिदिने मन छ।।

चुहिएको हाम्रो घरको टाली, फेरिदिने मन छ।
गुमाएका खेतबारी फेरि, किनिदिने मन छ।।
सपनाको हाम्रो संसार पनि, सजाइदिने मन छ।
हो, मलाई मेरो भाग्य आफ्नै हातले लेख्ने सार्है मन छ।।

(बर्दघाट नगरपालिका-४, बर्दघाट, नवलपरासी )

Sharing

प्रतिक्रिया दिनुहोस