• २०८३ बैशाख २५ गते शुक्रवार

काठमाडौँ उपत्यकामा आजदेखि जोर–बिजोर प्रणालीबाट सवारी साधन चलाउन पाइने

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ २५ ,काठमाडौँ । उपत्यकामा आजदेखि जोर–बिजोर प्रणालीबाट सवारी साधन चल्न थालेका छन् । ट्राफिक प्रहरी महाशाखाले गतेका आधारमा जोर बिजोर प्रणाली लागू गरेको छ ।

बुधवार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले निजी सवारी र १६ सिटभन्दा माथि सिट क्षमता भएका सार्वजनिक गाडीमा जोर–बिजोर प्रणाली लागू गर्ने निर्णय गरेका थिए ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख (एसएसपी) भिम प्रसाद ढकालका अनुसार स्थानीय प्रशासनको निर्णय अनुसार आज बिजोर नम्बरका सवारी चलाउन पाइने छ । ‘गतेका आधारमा जोर बिजोर लागु गरेका छौं,’ प्रहरी बरिष्ठ उपरीक्षक ढकालले भने– ‘आज बिजोर गते भएकाले बिजोर नम्बरका सवारी चल्न पाउँछन् ।’ जोर–बिजोर प्रणालिमा सञ्चालन हुने सवारी साधनले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नुपर्छ । ट्याक्सीमा चालकसहित ३ जनाभन्दा बढी बस्न पाइदैँन् । एकै परिवारका मान्छे ट्याक्सी चढेमा ५ बर्षमुनिका दुईजना बच्चालाई सँगै राख्न सकिन्छ । १६ भन्दा बढी सिट क्षमता भएका सार्वजनिक बसमा कुल सिट क्षमताको आधा नबढ्ने गरि एक लहरमा एकजना मात्र यात्रु चढाउन सकिन्छ । बसमा सेनिटाइजरको अनिवार्य व्यवस्था हुनुपर्छ । यात्रु र चालकले मास्क अनिवार्य लगाउनुपर्छ ।

जोर बिजोर प्रणाली उल्लंघन गरेमा बिहिबार निश्चित समय होल्ड गरेर चेतावनीसहित छाडिने र शुक्रबारबाट कारावाहीका लागि जिल्ला प्रशासन कार्यालयमा पठाईने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ट्याक्सी र बसमा सुरक्षा मापदण्ड पुरा गरे नगरेकोबारे ट्राफिक प्रहरीले अनुगमन गर्नेछ । निजी सवारी साधनले पनि स्वास्थ्य मापदण्ड पुरा गर्नुपर्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस