श्रावण २५ ,काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सिङ्गल फेज मिटरलाई हटाएर स्मार्ट मिटर जडान गर्न सुरु गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले काठमाण्डौको बूढानीलकण्ठ नगरपालिका ९ को वडा कार्यालय मण्डिखाटारमा रहेको सिङ्गल फेज मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरी जडान कार्यको शुभारम्भ गरेका हुन ।
देशभर अहिले झण्डै ५० लाख सिङ्गल फेजका ग्राहक रहेकोमा पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका ग्राहकको सिङ्गल फेज र थ्री फेज गरी झण्डै एक लाख मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरिने छ । स्मार्ट मिटर जडानको सुरुवातसँगै प्राधिकरणले अगाडि सारेको ‘डिजिटल एनईए’ कार्यान्वयनतर्फ गएको छ । स्मार्ट मिटर प्रयोगमा आएपछि ग्राहकको घरघरमा गएर मिटर रिडिङ गर्नुपर्ने छैन । विद्युत् खपतको डाटा दुवैतर्फ प्रसारण हुन सक्ने हुँदा केन्द्रबाट मिटर रिडिङ गर्न सकिने र बिल नतिर्ने ग्राहकको लाइन केन्द्रबाटै अनलाइन काट्न सकिने छ ।
मिटर रिडिङको कारणले हुने विद्युत् चुहावट नियन्त्रण हुनेछ । कार्यक्रममा मन्त्री पुनले सरकारले अगाडि सारेको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य राज्यका निकायले प्रवाह गर्ने सेवाको आधुनिकीकरण र चुस्तता कायम गर्नु भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न स्मार्ट मिटर जडानको सुरुवात एउटा कोशेढुङ्गा भएको बताए ।