श्रावण २५ , काठमाडौँ । कोभिड–१९ का कारण विश्वमा उत्पन्न जटिल परिस्थितिले गर्दा नियमित अन्तर्राष्ट्रिय हवाई सेवा स्थगित हुँदा विभिन्न देशमा रोकिएका नागरिकलाई नेपाल फर्काउने क्रम जारी रहेको छ ।
विभिन्न देशमा रहेका नेपाली दूतावास, कूटनीतिक निकाय र गैरआवासीय नेपाली सङ्घबीचको सहकार्यमा हालसम्म ५८ देशबाट ४६ हजार ३१२ जना नेपाल फर्किएका छन् । नेपाल फर्किएका सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्सबाट १२ हजार ५०१ जना रहेको गैरआवासीय नेपाली सङ्घले जनाएको छ ।
यसैगरी साउदी अरेबियाबाट छ हजार ९९७, मलेसियाबाट छ हजार ७९४, कुवेतबाट छ हजार ३२९ र कतारबाट पाँच हजार २५१ जना नेपाल फर्किसकेको सङ्घले जानकारी दिएको छ । सङ्घका अनुसार अफगानिस्तानबाट ३३, ओमानबाट ६३६, बर्माबाट २६, थाइल्यान्डबाट ३२६, दक्षिण कोरियाबाट ७२०, बङ्गलादेशबाट ८४१, माल्दिभ्सबाट ७०९, सिङ्गापुरबाट २९७, हङकङबाट ८९, पाकिस्तानबाट ७२, बहराइनबाट ९८०, अमेरिकाबाट ४२३, बेलायतबाट २२९, इजरायलबाट १२७, चीनबाट २०८, टर्कीबाट ११० जना स्वदेश फर्किएका छन् ।
फिलिपिन्सबाट २०१, स्विट्जरल्यान्डबाट १०, इराकबाट ३९, दक्षिण सुडानबाट २५०, सेन्ट्रल अफ्रिकन रिपब्लिकबाट ६८, श्रीलङ्काबाट पाँच, जापानबाट एक हजार २३ जना स्वदेश फर्किएका छन् । भारतबाट हवाई उडानमार्फत ८५ जना स्वदेश फर्किएका छन् । सङ्घले उल्लेख गरेको तथ्याङ्कमा स्थलमार्ग हुँद नेपाल आएकाहरूको तथ्याङ्क भने समेटिएको छैन ।
यसैबीच विभिन्न देशमा मृत्यु भएका २४६ जना नेपालीको शव नेपाल ल्याई परिवारलाई बुझाइएको छ । १७२ को मृत्यु भएको देशमै अत्येष्टिका लागि परिवारबाट सहमति प्राप्त भएको पनि बताइएको छ । अब ७६ शव नेपाल ल्याउन बाँकी रहेको बताइएको छ । यस्तै गैरआवासीय नेपाली सङ्घले जनाएअनुसार सङ्क्रमणका कारण विदेशमा मात्र १९१ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार भारतमा गत साता थप दुई जनाको कोरोनाका कारणले निधन भएको छ ।