श्रावण ११, काठमाडौं । बागमती प्रदेशमा डीआईजी लामाको नयाँ अभियान अन्र्तगत प्रदेश प्रहरी स्तरिय कार्य सञ्चालन समिक्षा तथा आगामी कार्यनीति सम्बन्धी कार्यक्रमको सुरुवात गरिएको छ । प्रदेश प्रहरी अन्तर्गतका प्रहरी कार्यालयहरुको कार्य संचालन सम्बन्धी जानकारी लिने, मातहत कार्यालयहरुको समस्या, चुनौतीका साथै अपेक्षाहरुको बारेमा जानकारी लिने र प्रदेश प्रहरी कार्यालयसंग मातहतका कार्यालय प्रमुख वीच कार्य सम्पादन करार गर्ने उद्देश्यले आयोजना गरीएको उक्त कार्यक्रम बिभिन्न चरणमा गरी सम्पन्न गरीएको हो ।
प्रदेश प्रहरी स्तरिय कार्य संञ्चालन समिक्षा तथा आगामी कार्यनिती कार्यक्रमको प्रमुख उद्देश्य भनेको प्रदेश प्रहरी प्रमुख र मातहतका कार्यालय प्रमुखहरु वीच कार्य सम्पादन करार गर्नु रहेको थियो ।
बागमती प्रदेश प्रहरी कार्यालयले तयार गरेको कार्य सम्पादन सम्झौतामा मातहतका कार्यालयहरुले मासिकरुपमा सम्पादन गर्नुपर्ने कार्यहरुको सुचक निर्धारण गरिएको छ । सुचकले निर्धारण गरेका बिषय अनुरुप कार्य सम्पादन गरी सार्वजनिक प्रशासन अन्तर्गत रहने प्रहरी प्रशासनको कार्यलाई स्तरीय, प्रभावकारी र कार्यको मुल्यांकन योग्य बनाउने, शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रण र आन्तरीक व्यवस्थापनलाई सुदृढ, विश्वसनीय र व्यवसायीक बनाउने उद्देश्यले मातहातका कार्यालय प्रमुखहरुसंग कार्य सम्पादन करार गरीएको हो । नेपाल प्रहरीमा प्रदेश प्रहरी कार्यालय र मातहतका कार्यालय प्रमुखहरु बिच भएको यो कार्य सम्पादन सम्झौता पहिलो हो ।