• २०८३ जेष्ठ २५ गते सोमवार

दाङमा रिपोर्ट नआउँदै घर पठाइएका १७ जनामा कोरोना पुष्टि

सागर थापा पढ्न लाग्ने समय : २ मिनेट

असार १, दाङ । घोराही उपमहानगरपालिकाका दुई क्वारेन्टाइनमा बसेका १७ जनामा घर पठाइएपछि कोरोना पुष्टि भएकाे छ । घोराही उपमहानगरपालिका–१७ स्थित चौघेरा क्वारेन्टाइनमा बसेका १३ र प्रावि क्वाडीमा बसेका ४ जनामा घर गइसकेपछि कोरोना पुष्टि भएको हो ।

वडा कार्यालयले लापरबाही गरेको भन्दै स्थानीयले विरोध गरेका छन् । उनीहरुले वडा कार्यालयमा भेला भइ ध्यानाकर्षण गराएका थिए ।भारतबाट आएर क्वारेन्टाइनमा बसेकालाई जेठ २८ गते रिपोर्ट नआउँदै घर पठाइएको थियो । उनीहरूको जेठ २१ गते पीसीआर टेस्टको लागि स्वाब संकलन गरिएको थियो । स्वाबको रिपोर्ट आउन ढिला भएपछि क्वारेन्टाइनमा बस्नेहरूले घरमा सुरक्षित बस्ने गरी जान पाउनुपर्ने माग गरेका थिए । त्यसपछि उनीहरूलाई घर जान दिइएको थियो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पीसीआर परीक्षणमा आइतबार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । प्रतिष्ठानले यसको रिपोर्ट अझै सार्वजनिक गरेको छैन । वडालाई भने आइतबार नै जानकारी दिइएकोले संक्रमितलाई खोजेर आइसोलेसनमा पठाएको नगर प्रमुख नरूलाल चौधरीले बताए ।

स्वास्थ्य मन्त्रालयको परिपत्र अनुसार २२ दिनसम्म क्वारेन्टाइनमा बसेर कुनै लक्षण नदेखिएकालाई घरमा सुरक्षित बस्ने गरी पठाइएको उनले बताए । उनीहरूको ट्रेसिङ गर्ने काम भइरहेको चौधरीले जानकारी दिए । ‘लामो सयमसम्म रिपोर्ट नआएपछि र उनीहरुमा कुनै लक्षण नदेखिएपछि छलफल गरेर घरमा सुरक्षित बस्ने गरी पठाइएको हो,’ चौधरीले भने,‘कतै पनि ननिस्केर घरमै बस्ने गरी पठाइएको हो । कतै गए नगएको बुझ्ने र ट्रेसिङ गर्ने काम भइरहेको छ ।’

Sharing

प्रतिक्रिया दिनुहोस