जेठ ११, नुवाकोट । नुवाकोटको ककनी गाउँपालिकाको वडा नम्बर ३ मा रहेका एक जना पुरूषमा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँ महानगरपालिकाको समन्वयमा भएको कोरोना परीक्षणमा ती पुरूषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले ककनीमा रहेका एक जना पुरूषमा कोरोना संक्रमण भएको पुष्टि गर्नुभयो । उहाँले एक जनामा कोरोना पुष्टि भएको जानकारी दिँदै आवश्यक सावधानी अपनाउँन हुन पनि अनुरोध गर्नुभयो । सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोली उक्त स्थानमा गएर शिल गर्ने तयारी गरेको पनि उहाले बताउनु भयो । कोरोना संक्रमण पुष्टि भएपछि ती पुरूषलाइ स्वास्थ्यकर्मीको टोली आएर अस्पताल लगिसकेको पनि अध्यक्ष लामाले बताउनु भयो ।
कोरोना पुष्टि भएका पुरूषले काठमाडौँ महानगरपालिकाको फोहोरमैला व्यवस्थापन सम्बन्धी बैठकमा सहभागिता जनाएका थिए । ती पुरूषसँगै बैठकमा सहभागी नुवाकोटकै अन्य केही व्यक्तिको भने कोरोना संक्रमण नदेखिएको बुझिएको छ । कोरोना संक्रमित पुरूष राजनीतिमा सक्रिय रहेको बुझिएको छ ।