बैशाख १७, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक निष्कर्षविहीन बनेको छ । नेताहरुको आ–आफ्नै अडान कायम रहँदा बैठक निष्कर्षबिहीन बनेको हो ।
बैठकमा प्रचण्ड र माधव नेपाललगायतका सचिवालयका अधिकांश सदस्यले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने माग गरेका थिए भने तत्काल स्थायी समिति बोलाउने विषयमा पनि धारणा राखेका थिए । तर ओली भने राजीनामा नदिने र स्थायी कमिटी पनि नबोलाउने पक्षमा रहेका थिए ।
दुई पक्ष आ–आफ्नै अडानमा रहेपछि वैशाख २० गते फेरि सचिवालय बैठक बस्नेगरी बुधबारको बैठक सकिएको छ ।
प्रेस विज्ञप्ति
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयकाे बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल”प्रचण्ड” काे संयुक्त अध्यक्षतामा बालुवाटारमा बस्याे ।
बैठकमा पार्टीकाे आन्तरिक एकताकाे सुदृढीकरण, सरकारका काम कारबाही, स्थायी समितिकाे बैठकलगायत विभिन्न विषयहरूमा गहन छलफल भयाे । सबै सदस्यहरूले आ आफ्ना धारणाहरू राख्नुभयाे ।
बैठकले आन्तरिक छलफल र सरसल्लाह जारी राख्दै आगामी बैशाख २० गते पार्टी सचिवालयकाे बैठक बस्ने निर्णय गरेकाे छ ।
नारायणकाजी श्रेष्ठ
प्रवक्ता
१७ बैशाख २०७७