फागुन १, काठमाडौं । नेपाल प्रहरीमा आईजीपीको नियुक्ति प्रक्रियासँगै रिक्त रहेका पदहरुका लागि प्रहरी अधिकृतहरु शक्तिकेन्द्र धाउन थालेका छन् । माघ २९ देखि प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालको अनिवार्य अवकास सगैं डीइजीहरुले शक्तिकेन्द्र धाउन थालेका हुन् । आइजीपी खनालसहित बहालवाला तीन एआइजी र १८ डिआइजी एकैटपक अवकाश पाएपछि रिक्त तीन एआइजीमा कडा प्रतिस्पर्धा हुने भएको हो ।
नेपाल प्रहरीको २७ औं आईजीपीमा ठाकुर ज्ञवाली नियुक्त भएपछि बरिष्ठताका आधारमा डिआइजी तारणी लम्साल एआइजी हुने संभावना भएपनि लम्साल पनि ज्ञवालीसँगै अवकाश पाउनेछन् । त्यसैले बाँकी दुइ एआइजी बढुवामा जो बरिष्ठ हुन्छ त्यो नै भावी आइजीपीको दाबेदार हुने हुनाले आइजीपीको भन्दा एआइजी बन्न रस्साकस्सी चलेको हो ।
यसैक्रममा भावी आइजीपीका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरादेखि अख्तियारका प्रमुख आयुक्त नविन घिमिरे हुँदै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विशेष चासो देखाउन थापेलछि प्रहरी मुख्यालयमा हलचल पैदा भएको छ । प्रधानन्यायाधीश जबरा, प्रमुख आयुक्त घिमिरे र रक्षामन्त्री पोखरेलले आफ्ना मान्छेलाई नियुक्ति दिलाउन लागि परेपछि प्रहरी संगठनमा केहि अप्ठ्यारो देखा परेको हो ।
उच्चश्रोतका अनुसार प्रधानन्यायाधीश, प्रमुख आयुक्त र रक्षामन्त्रीले हाल महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेललाई च्याप्दै प्रहरी संगठनको प्रकृया समेत खलबलाउने गरी भावी आइजीपी बनाउन अहिले नै एआइजीमा बढुवा गर्न दबाब दिन थालेपछि बरिष्ठ प्रहरीहरु असन्तुष्ट बनेका हुन । त्यस्तै लामो समयदेखि नेपाली सेनामा रिक्त रथी बढुवा नभएको भन्दै सैनिक मुख्यालयमा असन्तुष्टीका स्वरहरु सुनिएपनि त्यसबारे मौन बस्दै आएका उपप्रधान एवम् रक्षामन्त्री पोखरेलले आफ्नो बन्धु भन्दै डिआइजी पोखरेललाई च्यापेको गृहमन्त्रालय परिसरमा सुन्न पाईन्छ ।
अहिले बरिष्ठताका आधारमा ६ जना डिआईजीहरुमध्ये एक जना आइजीपी हुनेछन् भने ५ जनाबाट तीन एआइजी बन्नेछन् । यसका लागि बरिष्ठताका आधारमा एक नम्बरमा डिआइजी ज्ञवाली छन् भने दुइ नम्बरमा लम्साल, तीनमा शैलेश थापा क्षेत्री, चारमा हरिबहादुर पाल, पाँचमा प्रधुम्न कार्की र ६ नम्बरमा सूर्य उपाध्याय रहेका छन् । तर आफूभन्दा बरिष्ठलाई पछि पार्दै डिआइजी पोखरेल एआइजी बन्न विभन्नि शक्तिकेन्द्र धाईरहेका छन् ।
माथि उल्लेखित ६ जना डिआइजीहरुभन्दा ११ महिनापछि प्रहरी सेवामा नियुक्ति बुझ्दै प्रवेश गरेका पोखरेल उनीहरुभन्दा ८ महिनापछि डिआइजीमा बढुवा भएका हुन । त्यो पनि एसएसपी वीरेन्द्र श्रेष्ठ र घनश्याम अर्यालहरुजस्ता आधा दर्जन बरिष्ठ एसएसपीहरुलाई पछि पार्दै रक्षामन्त्री पोखरेलको दबाबमा डिआइजीमा बढुवा हुन पुगेका हुन । पोखरेलले अहिले आफू बरिष्ठ अधिकारीहरुलाई पाखा लगाएर आफू दाउ मार्ने प्रक्रियामा जुटेपछि यसले प्रहरी संगठनमा खैलाबैला मच्चिएको हो । उनी रक्षामन्त्री पोखरेलसँग अत्यन्तै निकट रहेर प्रभावमा पार्न सफल रहेको उच्च प्रहरी अधिकारीहरुले बताउने गरेका छन् ।
न्युज नेपाल डटकम बाट