मंसिर १३, सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न कर्णाली प्रदेशमा करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ । मंसिर १६ गते प्रधानमन्त्रीबाट हुने प्रतियोगिताको उद्घाटन समारोहदेखि खेल सञ्चालन अवधिभरको सुरक्षा व्यवस्थापनलाई केन्द्रमा राखेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतमा प्रदेश सुरक्षा समितिको बैठक बसेको छ ।

मुख्यमन्त्री मंगलबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकमा सामाजिक विकासमन्त्री जितबहादुर मल्ल, प्रदेश सरकारका प्रमुख सचिव, सचिवहरू, प्रदेशस्थित सुरक्षा निकायका प्रमुख तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को टोली सहभागी छन ।
बैठकमा प्रतियोगिताको उद्घाटन समारोहको सुरक्षा, खेलस्थलको निगरानी, खेलाडी तथा प्रशिक्षकको आवास र आवतजावत, विशिष्ट पाहुनाको सुरक्षा, दर्शक व्यवस्थापन तथा ट्राफिक नियन्त्रणलगायत विषयमा छलफल भएको थियो । प्रतियोगिताका क्रममा हुन सक्ने सम्भावित सुरक्षा चुनौती पहिचान गरी त्यसको रोकथाम र नियन्त्रणका लागि अपनाउनुपर्ने उपायबारे पनि समीक्षा गरिएको थियो ।
प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटाका अनुसार प्रतियोगिताको सुरक्षाका लागि करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिनेछ । प्रदेशमा उपलब्ध सुरक्षाकर्मीमध्ये करिब ७० प्रतिशत जनशक्ति प्रतियोगिताको सुरक्षामा खटाउने तयारी छ । आवश्यक परे परिचालन गर्न रिजर्भ टोलीसमेत तयारी अवस्थामा राखिनेछ ।
प्रतियोगिताका १५ खेलस्थलमा सीसीटीभी क्यामेरामार्फत निगरानी गरिनेछ । खेलस्थलमा सुरक्षा जाँच, नियमित गस्ती तथा निगरानीका लागि छुट्टाछुट्टै टोली परिचालन गरिनेछ । त्यस्तै, विशिष्ट पाहुनाको सुरक्षा, एस्कर्टिङ, होटल गार्ड र खेलाडी बसोबास गर्ने स्थानको सुरक्षाका लागि विशेष व्यवस्था मिलाइनेछ ।
मंसिर १६ गते प्रधानमन्त्रीसहित विशिष्ट पाहुनाको उपस्थितिमा वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा प्रतियोगिताको औपचारिक उद्घाटन हुँदैछ । उद्घाटन समारोहमा ठूलो संख्यामा दर्शक सहभागी हुने अपेक्षा गरिएकाले रंगशालाको प्रवेश तथा निकास मार्ग, दर्शकको चाप, पार्किङ र आसपासको ट्राफिक व्यवस्थापनलाई पनि सुरक्षा योजनामा समेटिएको छ ।
बैठकले प्रतियोगिताको अवधिभर सुरक्षा निकायबीच नियमित समन्वय र सूचना आदानप्रदान गर्दै आवश्यकताअनुसार जनशक्ति परिचालन गर्ने विषयलाई प्राथमिकता दिएको छ । खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी, अतिथि र दर्शकले निर्धक्क रूपमा प्रतियोगितामा सहभागी हुन पाउने वातावरण निर्माण गर्नु सुरक्षा व्यवस्थापनको मुख्य उद्देश्य रहेको छ ।
कर्णालीमा पहिलोपटक आयोजना भइरहेको दशौँ राष्ट्रिय खेलकुद मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा सात प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोली सहभागी छन् । खेलकुदको भव्य आयोजनासँगै शान्ति सुरक्षा कायम राख्न प्रदेश सरकार र सुरक्षा निकायले तयारीलाई तीव्रता दिएका छन् ।