मंसिर १३, काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लिमिटेडका अध्यक्ष रमेशप्रसाद पोखरेलले नेपालको सहकारी अभियानलाई अब उत्पादन, उद्यमशीलता, नवप्रवर्तन र प्रविधिको प्रयोगसँग जोडेर अघि बढाउनुपर्ने बताएका छन् । सहकारी क्षेत्रलाई परम्परागत बचत तथा ऋण कारोबारमा मात्र सीमित नराखी उद्योग, व्यवसाय र रोजगारी सिर्जनाको महत्वपूर्ण आधारका रूपमा विकास गर्नुपर्ने उनको भनाइ छ ।

नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा अध्यक्ष पोखरेलले पछिल्लो समय सहकारी क्षेत्रमा केही वित्तीय समस्या देखिए पनि समग्र अभियान विस्तार र विकासको दिशामा अघि बढिरहेको दाबी गरे ।
उनका अनुसार सहकारी संस्थामा देखिएको तरलता तथा वित्तीय परिचालनको समस्याका कारण कतिपय सदस्यले आफूले जम्मा गरेको बचत फिर्ता पाउन सकेका छैनन्। यस समस्याको समाधानका लागि सरकार र सहकारी अभियान दुवै पक्ष सक्रिय रहेको उनले बताए ।
उनले भने, ‘सहकारी अभियानलाई अब बचत तथा ऋण कारोबारमा मात्र सीमित राख्नु हुँदैन । यसलाई उत्पादन, उद्यमशीलता, नवप्रवर्तन र नयाँ प्रविधिको प्रयोगसँग जोडेर अगाडि बढाउनुपर्छ । सहकारी क्षेत्रबाट उद्योग, व्यवसाय सञ्चालन र रोजगारी सिर्जना गर्ने वातावरण बनाउन आवश्यक छ । पछिल्लो समय केही सहकारी संस्थामा वित्तीय परिचालनको समस्या देखिए पनि समग्र सहकारी अभियान विस्तार भइरहेको छ । बचतकर्ताको रकम फिर्ताका लागि सरकार र सहकारी अभियान दुवै मिलेर काम गरिरहेका छन् । समस्याको समाधान गर्दै सहकारी क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र उत्पादनमुखी बनाउनु अहिलेको आवश्यकता हो ।’
बचतकर्ताको रकम फिर्ता गर्ने उद्देश्यले सरकारले संयन्त्र निर्माण गरेको र त्यसमा सहकारी अभियानको समेत प्रतिनिधित्व रहेको पोखरेलले भनाई छ । उक्त संयन्त्रमार्फत बचत फिर्ताको प्रक्रिया छिटो र प्रभावकारी बनाउन पहल भइरहेको उनको भनाइ छ । केही सहकारीका बचतकर्ताले रकम फिर्ता पाउन थालेको र अन्य संस्थाका बचतकर्ताले पनि क्रमशः भुक्तानी पाउने प्रक्रिया अघि बढिरहेको उनले उल्लेख गरे ।
उनले भने, ‘बचतकर्ताको रकम फिर्ता गर्ने उद्देश्यले सरकारले एउटा संयन्त्र निर्माण गरेको छ । त्यसमा सहकारी अभियानको तर्फबाट पनि प्रतिनिधित्व गराइएको छ । हामी सकेसम्म छिटो बचत फिर्ता गराउन आवश्यक पहल र काम गरिरहेका छौँ । केही सहकारी संस्थाका बचतकर्ताले रकम फिर्ता पाउनुभएको छ भने अन्य संस्थाका बचतकर्ताले पनि क्रमशः भुक्तानी पाउने प्रक्रिया अघि बढिरहेको छ ।’
सहकारी क्षेत्रमा समस्या देखिएपनि यसको समग्र आकार र सदस्य सहभागिता भने बढिरहेको पोखरेलको दाबी छ । विगतमा करिब ३० हजार सहकारी संस्था रहेको बताइने गरेकामा अहिले सरकारी तथ्याङ्कअनुसार करिब ३२ हजार संस्था सञ्चालनमा रहेको उनले बताए । त्यस्तै, सहकारी क्षेत्रको कारोबार एकल अङ्कबाट दोहोरो अङ्कमा पुगेको र सदस्य सङ्ख्या पनि ७४–७५ लाखबाट बढेर करिब एक करोड नौं लाख पुगेको उनको भनाइ छ ।
उनले भने, ‘यतिबेला संख्यात्मक रूपले विगतमा करिब ३० हजार भन्थ्यौँ, अहिले करिब ३२ हजार संस्थाहरू भनेर सरकारले नै डाटा सार्वजनिक गरेको छ । विगतमा कारोबारलाई पनि एउटा सिङ्गल डिजिटमा भन्ने गथ्र्यौँ, अहिले डबल डिजिटमा कारोबार पुगेको स्थिति छ । अनि त्यस सदस्य सहभागितामा पनि पहिले विगतमा ७४–७५ लाख भनेर भन्थ्यौँ, अहिले १ करोड ९ लाख करिब सदस्यहरू आबद्ध भएका छन् ।’
यी तथ्याङ्कले सहकारी अभियानको विस्तार र विकास भइरहेको देखाउने उल्लेख गर्दै उनले अहिले देखिएका समस्यालाई समाधान गर्दै सहकारीको दर्शन, मूल्य, मान्यता र सिद्धान्तअनुसार अभियानलाई अगाडि बढाउनुपर्ने बताए ।
बचत तथा ऋणभन्दा उत्पादन र उद्यमशीलतामा जोड
अध्यक्ष पोखरेलका अनुसार सहकारी अभियानले विगतमा संगठन निर्माण र पुँजी सङ्कलनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । अब भने त्यसलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने समय आएको बताए ।
उनले सहकारी क्षेत्रले मुख्यतः तीनवटा विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए । जसमा उद्यमशीलता तथा उत्पादन, नवप्रवर्तन तथा नयाँ प्रविधिको प्रयोग र युवा सहभागिता मुख्य प्राथमिकतामा राख्नुपर्ने बताए ।
उनले भने, ‘बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाले बैंक तथा वित्तीय संस्थासँग स्वस्थ प्रतिस्पर्धा गर्नुपर्छ । तर सहकारीको वास्तविक सम्भावना उत्पादन, उद्योग र व्यवसायमा लगानी विस्तार गर्नुमा रहेको छ ।’
यसका लागि अन्तर्राष्ट्रिय अभ्यासबाट पनि सिक्न सकिने उनको धारणा छ । भारतको अमूल दुग्ध उद्योग, मल उद्योग तथा विभिन्न चिनी उद्योग सहकारी क्षेत्रको सफलताको उदाहरण रहेको उनले बताए । त्यस्तै, नेदरल्याण्डको राबो बैंक, इजरायलको कृषि क्षेत्र र जापानको सहकारीमार्फत भएको बहुआयामिक विकासबाट नेपालले सिक्न सक्ने उनले उल्लेख गरे ।
उनले भने, ‘अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्दा भारतको अमूल दुग्ध उद्योग, इफको मल उद्योग तथा ठूला चिनी उद्योगहरू सहकारीमार्फत सञ्चालन भइरहेका छन् । त्यस्तै, नेदरल्याण्डको राबो बैंक, इजरायलको कृषि क्षेत्र र जापानको सहकारी अभियानबाट पनि हामीले धेरै कुरा सिक्न सक्छौँ । यी देशका सफल अभ्यासलाई आत्मसात गर्दै नेपालले पनि सहकारी क्षेत्रलाई उत्पादन, उद्योग र उद्यमशीलतासँग जोडेर अगाडि बढाउनुपर्छ ।’
नेपालको सहकारी क्षेत्रले पनि यस्ता सफल अभ्यासलाई आत्मसात गर्दै उत्पादन, प्रविधि र उद्यमशीलतामा आधारित आर्थिक गतिविधि विस्तार गर्नुपर्ने उनको भनाइ छ । सहकारीमा पारदर्शिता कायम गर्दै नयाँ प्रविधिको उपयोग र युवाको सक्रिय सहभागिता बढाउन सके यस क्षेत्रले मुलुकको आर्थिक विकासमा थप योगदान पु¥याउन सक्ने उनले बताए ।
सहकारीमैत्री कानुनी आधार आवश्यक
सहकारीलाई उत्पादन, उद्योग, व्यवसाय र रोजगारी सिर्जनासँग जोड्न विद्यमान कानुनी व्यवस्थामा सुधार आवश्यक रहेको अध्यक्ष पोखरेलले बताए । निजी क्षेत्रले उद्योग तथा व्यवसाय सञ्चालन गर्न पाउने कानुनी आधार सहकारी क्षेत्रले पनि पाउनुपर्ने उनको माग छ ।
उनका अनुसार सहकारी अभियानले सरकारसमक्ष सहकारीसँग अन्तरसम्बन्धित करिब ४६ वटा ऐन संशोधन गर्नुपर्ने विषय उठाउँदै आएको छ । सहकारी संस्थाले आफ्नै पहलमा उद्योग सञ्चालन गर्न, विद्यालय स्थापना गर्न, यातायात तथा पर्यटन क्षेत्रमा लगानी गर्न सक्ने गरी कानुनी व्यवस्था हुनुपर्ने उनले बताए ।
त्यसैगरी, सरकारी, निजी र सहकारी क्षेत्रको संयुक्त लगानीमा उद्योग तथा व्यवसाय सञ्चालन र रोजगारी सिर्जना गर्न सकिने वातावरण बनाउनुपर्ने उनको धारणा छ । यसले संविधानले परिकल्पना गरेको तीन खम्बे अर्थनीतिलाई व्यवहारमा कार्यान्वयन गर्न सहयोग पुग्ने उनले बताए ।
सरकार सहकारीसम्बन्धी दुईवटा ऐन निर्माणको तयारीमा रहेको जानकारी प्राप्त भएको उल्लेख गर्दै पोखरेलले ऐन निर्माणका विषयमा सहकारी अभियानसँग छलफल भइरहेको बताए । नयाँ ऐनमा सहकारी क्षेत्रका आवश्यकता र सम्भावनालाई सम्बोधन गरिनुपर्ने उनको अपेक्षा छ ।
स्वायत्तता कायम राख्दै प्रभावकारी नियमन गर्नुपर्ने
सहकारी क्षेत्रको विकासका लागि सरकारले प्रवद्र्धनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा अध्यक्ष पोखरेलले जोड दिए । सहकारीको आफ्नै दर्शन, मूल्य, मान्यता र सिद्धान्त भएकाले यसको स्वायत्तता कमजोर पार्ने गरी नीति तथा कानुन निर्माण गर्न नहुने उनले बताए ।
यद्यपि, बचतकर्ताको रकम सुरक्षित गर्ने र समस्याग्रस्त संस्थाबाट बचत फिर्ता गराउने विषयमा सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ । यसका लागि प्रभावकारी संयन्त्र निर्माण गरी बचतकर्ताको रकम फिर्तालाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए ।
सरकार र सहकारी अभियानबीच सहकार्यको अपेक्षा
अध्यक्ष पोखरेलले पछिल्लो समय सरकार र सहकारी अभियानबीच संवाद तथा सहकार्यको वातावरण विकास हुन थालेको बताएका छन् । यसअघि सहकारी क्षेत्र सरकारी प्राथमिकतामा अपेक्षाकृत कम परेको महसुस भएपनि पछिल्ला दिनमा सम्बन्धित मन्त्री तथा मन्त्रालयले सहकारी अभियानसँग छलफल र सहकार्यलाई प्राथमिकता दिन थालेको उनले बताए ।
सहकारी अभियानका सुझाव र समस्या सम्बोधन गर्न सरकार सकारात्मक देखिएको उल्लेख गर्दै उनले यसले आगामी दिनमा सहकारी क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सहकारी अभियानले पनि सरकारसँग सहकार्य गर्दै नीतिगत सुधार, कानुन कार्यान्वयन र संस्थागत विकासमा योगदान पुर्याउने उनको भनाइ छ ।
तीन खम्बे अर्थनीतिको महत्वपूर्ण आधारका रूपमा रहेको सहकारी क्षेत्रलाई उत्पादन, उद्यमशीलता, रोजगारी र आर्थिक समृद्धिसँग जोड्न राज्यको सहयोग र अभियानको सक्रियता दुवै आवश्यक रहेको उनले बताए ।
समग्रमा, सहकारी क्षेत्रले अहिलेको वित्तीय चुनौती समाधान गर्दै आफ्नो कार्यक्षेत्र विस्तार गर्नुपर्ने समय आएको पोखरेलको निष्कर्ष छ । बचतकर्ताको विश्वास पुनःस्थापना, सुशासन र पारदर्शिता कायम तथा उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्न सके सहकारी अभियान मुलुकको आर्थिक समृद्धिको बलियो आधार बन्न सक्ने उनको विश्वास छ ।