• २०८३ मङ्सिर १४ गते आइतवार

२३७.१७ किलोग्राम गाँजासहित गाडी बरामद

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १३, बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चेकपोस्ट नजिकबाट प्रहरीले २३७.१७० ग्राम लागुऔषध गाँजासहित गाडी बरामद गरेको छ । प्रहरीका अनुसार शनिबार साँझ करिब ५ः४० बजे अमलेखगन्जबाट पथलैयातर्फ आउँदै गरेको बा १७ च २६३६ नम्बरको गाडीलाई शंकास्पद लागेर चेकजाँच गर्न खोजिएको थियो । तर, चालकले गाडी नरोकी तीव्र गतिमा भगाएका थिए ।

त्यसपछि प्रहरी चौकी पथलैया र इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले उक्त गाडीलाई पछ्याएको थियो । प्रहरीको पीछा गर्ने क्रममा चालकले दुधौरा खोलाको पुलपारि जंगलछेउमा इन्जिन चालु अवस्थामै गाडी छाडेर फरार भएका थिए ।

प्रहरी टोलीले जंगल क्षेत्रलाई घेराबन्दी गरी खोजतलास गर्दा चालक फेला पर्न सकेनन् । चालक भागेको दिशातर्फबाट एक थान किप्याड मोबाइल फेला परेको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएको गाडी चेकजाँच गर्ने क्रममा पछाडिको डिक्कीमा लुकाइछिपाइ राखिएको २३७.१७० ग्राम गाँजा बरामद भएको हो । प्रहरीले गाँजासहित गाडी नियन्त्रणमा लिएको छ भने फरार चालकको खोजी कार्य जारी राखेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस