मंसिर ८, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । बैठकमा संगठनको आगामी कार्यभार, भोटेकोशी र बुढीगण्डकीको विपद्पछिको पुन:स्थापना तथा पुनर्निर्माण, विस्थापित सुकुम्बासीको व्यवस्थापन, सरकारका पछिल्ला गतिविधि र स्थानीय निर्वाचनका विषयमा छलफल गर्ने कार्यसूची छ । बैठकलाई सम्बोधन गर्दै कांग्रेस सभापति गगन थापाले प्रधानमन्त्री वालेन्द्र शाहले भारत भ्रमणका उपलब्धिबारे जानकारी गराउनुपर्ने बताएका छन्। उनले प्रधानमन्त्रीको भारत भ्रमणबारे कांग्रेसले हतारमा टिप्पणी भने नगर्ने बताए।

‘प्रधानमन्त्रीले भारत भ्रमणको उपलब्धिबारे जानकारी गराउनुपर्छ,’ थापाले भने, ‘हामी हतारमा प्रधानमन्त्रीको भारत भ्रमणबारे बोल्दैनौं। तर दीर्घकालीन महत्त्वका केही काम भएजस्तो देखिएन।’ थापाले २०७२ सालपछि मुलुकको राजनीति पूर्णतया सत्ता केन्द्रित भएको र १० वर्षमा दिनुपर्ने डेलिभरीमा चुक्दा भदौ २३ र २४ का घटनाहरू भएको बताए। उनले नेपालमा आएको जनसाङ्ख्यिक परिवर्तन, बसोबास र अर्थतन्त्रमा आएको बदलाव तथा विश्वमा आएको नयाँ माध्यमको आगमनको सन्दर्भ उल्लेख गर्दै सोहीअनुसार १० वर्षमा डेलिभरी गर्नुपर्नेमा चुकिएको बताए।
उनले भदौ २३ र २४ गते भएका घटनालाई कम आँक्न नहुने निष्कर्ष निकालिएको जानकारी दिए। ‘भदौ २३ मा भएको दमन र २४ गते भएको आपराधिक घटना हुन् भनेर हामीले महाधिवेशनबाट भनेका छौँ। भदौ २३ र २४ गते भएको घटनालाई अन्डरमाइण्ड गर्न हुन्न भन्ने निष्कर्ष निकालेका छौँ,’ उनले भने ।
सभापति थापाले कांग्रेस रास्वपाको आन्तरिक किचलोमा प्रवेश नगर्ने पनि बताए । उनले यो कुरा पार्टीको महाधिवेशनसम्बन्धी दस्ताबेजमा उल्लेख गरेको थापाले बताए ।
‘हामी राष्ट्रिय स्वतन्त्र पार्टीभित्रका कुनै पनि खालका समस्याभित्र पस्दा पनि पस्दैनौं, हामीलाई रुचि पनि छैन, हामी कुनै कचकच पनि गदैनौं, हामी कुनै उपद्रोमा सहभागी पनि हुँदैनौं,’ सभापति थापाले भने, ‘हामीले यो कुरा हाम्रो पार्टीको महाधिवेशनका दस्तावेजमा प्रष्ट भनेका छौं ।’