• २०८३ मङ्सिर ८ गते सोमवार

नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ विकास सहायता दिने भारतको घोषणा, ऊर्जा क्षेत्रमा १ खर्ब ८४ अर्ब ऋण

खबर२४ नेपाल पढ्न लाग्ने समय : ६ मिनेट

मंसिर ७, काठमाडौं । भारतले नेपालको विकास, पूर्वाधार निर्माण तथा ऊर्जा क्षेत्रको विस्तारका लागि २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने भएको छ । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको द्विपक्षीय वार्तापछि जारी संयुक्त वक्तव्यमा उक्त घोषणा गरिएको हो ।

भारतले उपलब्ध गराउने कुल विकास सहायतामध्ये ५६ अर्ब रुपैयाँ अनुदानका रूपमा दिनेछ भने ऊर्जा क्षेत्रका परियोजनाका लागि १ खर्ब ८४ अर्ब रुपैयाँ बराबरको भारतीय रुपैयाँमा आधारित सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेछ ।

अनुदान रकम विपद्पछिको पुनर्निर्माण र नेपालमा नयाँ पूर्वाधार परियोजना सञ्चालनमा खर्च गरिनेछ । ऊर्जा क्षेत्रका लागि उपलब्ध गराइने ऋण विभिन्न परियोजनामा परिचालन गरिने संयुक्त वक्तव्यमा उल्लेख छ । सहायता परिचालनका लागि आवश्यक परियोजना तथा कार्यविधि दुवै देशबीचको परामर्शबाट अन्तिम रूप दिइनेछ ।

प्रधानमन्त्री मोदीले नेपाललाई नजिकको मित्र तथा छिमेकीका रूपमा विकास यात्रामा भारतको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि भारतले उपलब्ध गराएको मानवीय तथा प्राविधिक सहयोगप्रति आभार व्यक्त गरेका थिए ।

भ्रमणका क्रममा दुवै प्रधानमन्त्रीले ‘विकसित भारत र समुन्नत नेपाल’ सम्बन्धी संयुक्त दृष्टिकोणपत्र पनि स्वीकार गरेका छन् । उक्त दस्तावेजले नेपाल–भारत साझेदारीलाई दीर्घकालीन र भविष्यकेन्द्रित बनाउने मार्गचित्र प्रस्तुत गरेको छ ।

यसमा आर्थिक तथा विकास साझेदारी, कनेक्टिभिटी, ऊर्जा, जलस्रोत र जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने विषय समेटिएका छन् । त्यस्तै, जलवायु उत्थानशीलता, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, खेलकुद, स्टार्टअप, डिजिटल सेवा, अन्तरिक्ष र नवप्रवर्तनका क्षेत्रमा समेत नयाँ सहकार्य विस्तार गर्ने उल्लेख छ ।

दुवै नेताले नेपालमा सञ्चालन भइरहेका विकास परियोजनाको प्रगतिप्रति सन्तुष्टि व्यक्त गरेका छन् । भारतको सहयोगमा निर्माण भइरहेको राष्ट्रिय प्रहरी प्रतिष्ठानको काममा भएको प्रगतिको स्वागत गर्दै चितवनमा भारतीय अनुदान सहयोगमा कृषि–औद्योगिक पार्क स्थापना गर्ने घोषणासमेत गरेका छन् ।

काठमाडौं–भैरहवा–लखनउ हवाई मार्ग दुईतर्फी बनाइने
नेपालको हवाई कनेक्टिभिटी विस्तारका लागि काठमाडौं–भैरहवा–लखनउबीचको विद्यमान बी३४५ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति भएको छ । यसका लागि आवश्यक प्राविधिक परामर्श गरी कार्यान्वयनको प्रक्रिया टुंग्याइने संयुक्त वक्तव्यमा उल्लेख छ । हवाई सेवासम्बन्धी अन्य प्रस्तावमा पनि दुवै पक्षबीच छलफल जारी रहनेछ ।

त्यस्तै, नेपालको पारवहन व्यापारका लागि भारतको गुजरातस्थित दीनदयाल बन्दरगाह (कान्डला) प्रयोग गर्न नयाँ मार्ग उपलब्ध गराउने घोषणा भारतले गरेको छ । आवश्यक पूर्वाधार तयार भएपछि ओडिशास्थित पारादीप बन्दरगाहसम्म पनि नेपालको पहुँच विस्तार गरिनेछ । जनकपुर–अयोध्या रेल सेवा सुरु, रक्सौल–काठमाडौं रेलमार्गको सर्वेक्षण अन्तिम चरणमा नेपाल र भारतबीच धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले अयोध्या र जनकपुरबीच ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवा औपचारिक रूपमा सुरु गरिएको छ ।

दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा रेल सेवाको उद्घाटन गरेका हुन् । यसले रामायण सर्किटअन्तर्गत धार्मिक तथा सांस्कृतिक पर्यटनलाई प्रोत्साहन गर्नुका साथै दुई देशबीचको ऐतिहासिक तथा सभ्यतागत सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

त्यसैगरी, बौद्ध तथा शिव–शक्ति धार्मिक पर्यटन मार्ग विकास गर्ने सम्भावनाको अध्ययन गर्न पनि दुवै पक्ष सहमत भएका छन् । प्रस्तावित रक्सौल–काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको अन्तिम स्थानगत सर्वेक्षण सम्पन्न भएको घोषणा गरिएको छ। नेपालमा पूर्व–पश्चिम रेलमार्ग विकासका लागि पनि भारतले सहकार्य गर्ने सहमति भएको छ ।

सीमापार सडक तथा रेल सम्पर्क विस्तारका लागि नयाँ रेलमार्ग, पुल, एकीकृत जाँच चौकी र पेट्रोलियम पाइपलाइन निर्माणलाई प्राथमिकता दिने विषयमा समेत दुवै प्रधानमन्त्रीले जोड दिएका छन् ।

सीमा समस्या समाधानका लागि परराष्ट्र सचिवलाई निर्देशन
नेपाल–भारत सीमासम्बन्धी विषयमा संयुक्त रूपमा भइरहेको कामको प्रगतिप्रति दुवै नेताले सन्तुष्टि व्यक्त गरेका छन् । सीमास्तम्भको मर्मत तथा सम्भारका लागि संयुक्त रूपमा भइरहेको स्थलगत कार्यको प्रशंसा गर्दै बाँकी सीमा समस्याबारे काम अघि बढाउन दुवै देशका परराष्ट्र सचिवलाई निर्देशन दिइएको संयुक्त वक्तव्यमा उल्लेख छ ।

यसले लामो समयदेखि छलफलमा रहेको सीमा व्यवस्थापन तथा बाँकी विवाद समाधानका विषयलाई कूटनीतिक तहबाट अघि बढाउने आधार तयार गरेको छ ।

पेट्रोलियम पूर्वाधार र ऊर्जा सहकार्य विस्तार
नेपाल–भारतबीच पेट्रोलियम पूर्वाधार विस्तार गर्ने क्रममा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण नेपाललाई समर्पण गरिएको छ । त्यसैगरी, झापामा नयाँ पेट्रोलियम भण्डारण केन्द्र निर्माणका लागि दुवै प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट शिलान्यास गरेका छन् । भारतको सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन निर्माणको काम छिट्टै सुरु गर्नुपर्नेमा पनि दुवै पक्षले जोड दिएका छन् ।

नेपाल र भारतबीच प्राकृतिक ग्यासको पाइपलाइन निर्माणमा समेत सहकार्यको सम्भावना खोज्ने सहमति भएको छ । ऊर्जा क्षेत्रमा भारतसँगको सहकार्यलाई थप विस्तार गर्ने क्रममा ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । भारतीय कम्पनीको सहभागितामा नेपालमा निर्माण भइरहेका जलविद्युत् आयोजनालाई निर्धारित समयमा सम्पन्न गर्न दुवै पक्ष सहमत भएका छन् ।

पञ्चेश्वर र सप्तकोशी आयोजना अघि बढाउने सहमति
लामो समयदेखि चर्चामा रहेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) छिटो टुंग्याएर कार्यान्वयन अघि बढाउन दुवै प्रधानमन्त्रीले निर्देशन दिएका छन् । पञ्चेश्वर विकास प्राधिकरण र संयुक्त जलस्रोत समितिलाई यससम्बन्धी काम तीव्र बनाउन भनिएको छ ।

त्यसैगरी, सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको डीपीआर तयार गर्ने कामलाई गति दिने सहमति भएको छ । यी आयोजनामार्फत जलस्रोतको पारस्परिक लाभ लिनुका साथै बाढीको प्रभाव न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ । नेपालको इनरुवा–भारतको न्यु पूर्णिया तथा नेपालको दोधारा–भारतको बरेली जोड्ने दुई उच्च क्षमताका सीमापार विद्युत् प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी गठन गर्ने प्रक्रियामा भएको प्रगतिप्रति पनि दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका छन् ।

नेपालमा भारतीय प्रविधि संस्थानको शाखा स्थापना हुने
भारतले नेपालको शिक्षा तथा जनशक्ति विकासमा सहयोग पुर्याउने उद्देश्यले नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को अन्तर्राष्ट्रिय शाखा स्थापना गर्ने भएको छ । यसले नेपालको उच्च प्राविधिक शिक्षा क्षेत्रमा सहयोग पुग्नुका साथै रोजगारी सिर्जना र दक्ष जनशक्ति उत्पादनमा योगदान पु¥याउने दुवै प्रधानमन्त्रीको विश्वास छ ।

त्यस्तै, स्टार्टअप, डिजिटल प्रविधि तथा वित्तीय कनेक्टिभिटीका क्षेत्रमा नेपाल र भारतबीच सहकार्य विस्तार गर्ने सहमति भएको छ । एक देशमा बसोबास गर्ने अर्को देशका नागरिकलाई बैंकिङ तथा दूरसञ्चारलगायतका सेवा सहज रूपमा उपलब्ध गराउन आवश्यक सहजीकरण गर्ने विषयमा पनि दुवै पक्ष सहमत भएका छन् ।

आठवटा समझदारीपत्रमा हस्ताक्षर
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठवटा समझदारीपत्र आदानप्रदान भएका छन् ।

समझदारी भएका क्षेत्रहरू :
१. फरेन्सिक विज्ञान तथा अनुसन्धान : भारतको गुजरातस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्य।
२. प्रहरी तथा सुरक्षा तालिम : भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रतिष्ठानबीच सहकार्य।
३. निजामती कर्मचारीको क्षमता विकास : भारतको सुशासनसम्बन्धी राष्ट्रिय केन्द्र र नेपालको प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम।
४. आयुर्वेद तथा परम्परागत चिकित्सा : आयुर्वेद र अन्य परम्परागत चिकित्सा पद्धतिमा सहकार्य।
५. अन्तरिक्ष तथा भूउपग्रह सञ्चार : भारतको अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) र नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबीच दक्षिण एसिया भूउपग्रहको उपयोगका लागि भूउपग्रह सञ्चार सञ्जाल स्थापना।
६. दिगो सहरी विकास : सहरी पूर्वाधार तथा दिगो सहरी विकासका क्षेत्रमा प्राविधिक सहकार्य।
७. स्वास्थ्य तथा चिकित्सा : नेपाल र भारतबीच स्वास्थ्य सेवा तथा औषधि क्षेत्रमा सहकार्य।
८. पशुपन्छी तथा मत्स्य विकास : पशुपालन, पशुपन्छी विकास र मत्स्य क्षेत्रको प्रवद्र्धनमा सहकार्य।

मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले आफू र आफ्नो प्रतिनिधिमण्डललाई प्रदान गरिएको न्यानो आतिथ्यका लागि भारतीय प्रधानमन्त्री मोदीप्रति आभार व्यक्त गरेका छन् । उनले मोदीलाई औपचारिक रूपमा नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । मोदीले निमन्त्रणा स्वीकार गर्दै भ्रमणको मिति कूटनीतिक माध्यमबाट तय गरिने जानकारी दिएका छन् ।

संयुक्त वक्तव्यमा नेपाल र भारतबीचको सम्बन्ध गहिरो विश्वास, मित्रता, पारस्परिक सम्मान र समझदारीमा आधारित रहेको उल्लेख गरिएको छ । जनस्तरको निकट सम्बन्ध तथा आर्थिक र विकास साझेदारीले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाएको दुवै पक्षको निष्कर्ष छ ।

Sharing

प्रतिक्रिया दिनुहोस