मंसिर ७, काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेप, नियन्त्रण र संकुचन रोक्न सरकारसँग माग गरेको छ । महासंघले सञ्चारमाध्यममाथिको सरकारी हस्तक्षेप अन्त्य गर्न, प्रेस काउन्सिल अध्यादेश फिर्ता लिन तथा सञ्चारसम्बन्धी कानुन निर्माण गर्दा सरोकारवालासँग पर्याप्त छलफल गर्न आग्रह गरेको छ ।

काभ्रेको धुलिखेलमा मंसिर ५ र ६ गते आयोजित सरोकारवालासँगको सम्मेलन तथा बैठकबाट महासंघले १६ बुँदे प्रस्ताव पारित गर्दै यस्तो माग गरेको हो । महासंघका पदाधिकारी, पूर्वअध्यक्ष, विभिन्न सञ्चारमाध्यमका सम्पादक, नेपाल बार एसोसिएसनका प्रतिनिधि, कानुन व्यवसायी, प्रेससँग सम्बन्धित संघसंस्थाका प्रतिनिधि तथा अन्य सरोकारवालाको सहभागितामा भएको सम्मेलनले प्रेस स्वतन्त्रता, लोकतन्त्र, स्वतन्त्र न्यायपालिका, मानव अधिकार, विधिको शासन र सूचनाको हकका विषयमा छलफल गरी प्रस्ताव पारित गरेको हो ।
महासंघले संविधान र प्रचलित कानुनले सुनिश्चित गरेका मौलिक तथा कानुनी अधिकारको प्रयोगमा संकुचन र नियन्त्रण बढ्दै गएको भन्दै सरकारलाई संविधानको पूर्ण पालना गर्न आग्रह गरेको छ ।
त्यस्तै, प्रेस स्वतन्त्रता संकुचित गर्ने उद्देश्यले प्रस्तावित प्रेस काउन्सिल अध्यादेश फिर्ता लिन र मिडिया काउन्सिल विधेयक तथा आमसञ्चार विधेयकलगायत सञ्चारसम्बन्धी कानुन सरोकारवालासँग व्यापक छलफल र परामर्श गरेर मात्र निर्माण गर्न माग गरेको छ ।
महासंघले प्रेस काउन्सिल, पत्रकार तथा सञ्चारमाध्यममाथि सरकारी निर्देशनका नाममा भइरहेको हस्तक्षेप र नियन्त्रण तत्काल रोक्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
महासंघले पत्रकारलाई समाचारको स्रोत खुलाउन बाध्य पार्ने, त्यसका लागि प्रेस काउन्सिल तथा प्रहरी प्रशासनमार्फत केरकार, धम्की र दबाब दिने कार्य बन्द गर्न माग गरेको छ ।
सञ्चारमाध्यमको मुख्य प्रवेशद्वारमा सवारी अवरोध गराइएको तथा समाचार कक्षमा प्रहरी प्रवेश गरी समाचारको स्रोत खोजिएको घटनाको निन्दा गर्दै महासंघले उक्त घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कारबाही गर्न माग गरेको छ ।
त्यस्तै, समाचार कक्षमै प्रवेश गरी पत्रकारलाई पक्राउ गर्ने, धरपकड गर्ने तथा मोबाइल, ल्यापटप र क्यामेराजस्ता सञ्चार उपकरण नियन्त्रणमा लिने कार्य बन्द गर्नुपर्ने प्रस्ताव पारित गरेको छ । पत्रकारका सञ्चार उपकरणमा रहेका तथ्यांक मेटाउने वा हटाउन बाध्य पार्ने सरकारी व्यवहारको समेत अन्त्य गर्न महासंघले माग गरेको छ ।
महासंघले पत्रपत्रिकाले प्रचलित कानुन र अन्तर्राष्ट्रिय अभ्यासअनुसार प्राप्त गर्दै आएका लोककल्याणकारी सुविधा तथा विज्ञापन बन्द गर्ने वा कटौती गर्ने कार्यप्रति आपत्ति जनाएको छ ।
त्यस्तै, संघीयताको मर्मविपरीत प्रदेशमा दर्ता भएका सञ्चारमाध्यमलाई संघीय संरचनाबाट नियन्त्रण गर्ने प्रक्रिया अस्वीकार गर्दै प्रदेश सरकारमार्फत नै दर्ता तथा नवीकरणको व्यवस्था सहज बनाउन माग गरेको छ ।
सरकारको स्वामित्वमा रहेका गोरखापत्र, नेपाल टेलिभिजन, रेडियो नेपाल र राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत पत्रकारलाई एकैपटक ठूलो संख्यामा हटाइएको भन्दै महासंघले हटाइएका सबै पत्रकारलाई पुनर्बहाली गर्न माग गरेको छ ,
महासंघले संविधानको धारा २७ तथा सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले सुनिश्चित गरेको सूचनाको हक कार्यान्वयनमा जिम्मेवार सूचना आयोगलाई लामो समयसम्म नेतृत्वविहीन राखिएकोप्रति आपत्ति जनाएको छ ।
सूचनाको हक कार्यान्वयनमा अवरोध नगर्न र आयोगलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराइएको छ ।
त्यस्तै, न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षताको पूर्ण प्रत्याभूति गर्न, अदालतमा हुने राजनीतिक हस्तक्षेप र दबाब अन्त्य गर्न तथा संवैधानिक सर्वोच्चता कायम राख्न माग गरिएको छ ।
बन्दी प्रत्यक्षीकरणलगायत मौलिक हक हनन भएका अवस्थामा उपचारका लागि अदालत पुग्ने नागरिकका रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने वा अनावश्यक ढिलाइ गर्ने कार्य रोक्न पनि महासंघले आग्रह गरेको छ ।
महासंघले प्रेस काउन्सिलमा नेपाल पत्रकार महासंघको प्रतिनिधित्व सुनिश्चित नभए काउन्सिलले जारी गरेको आचारसंहिता पालना गर्न आफू बाध्य नहुने स्पष्ट पारेको छ ।
त्यस्तो अवस्था सिर्जना भए महासंघ आफैँले आचारसंहिता जारी गरेर अघि बढ्ने घोषणा पनि सम्मेलनले गरेको छ ।
यसैगरी, विभिन्न पेसाकर्मीको पेसागत स्वतन्त्रता तथा निर्वाध र भयमुक्त वातावरणमा पेसा सञ्चालन गर्न पाउने अधिकारको संरक्षण गर्न सरकारसँग माग गरिएको छ ।
डिजिटल विभाजनको वर्तमान अवस्थालाई ध्यानमा राख्दै निःशुल्क सूचना प्रवाह गर्दै आएका एफएम रेडियोमाथि लगाइएको दोहोरो तथा तेहोरो कर प्रणाली अन्त्य गर्न पनि महासंघले माग गरेको छ ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी प्रस्तावमा उल्लिखित सबै मागप्रति शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले समेत ऐक्यबद्धता जनाएको उल्लेख छ ।